Skip to main content

नेपाल निर्वाचन २०८२ प्रतिनिधिसभाः एक करोडभन्दा बढी समानुपातिक मत गनियो, ‘राष्ट्रिय पार्टी’को मान्यता ६ दलले पाउने सङ्केत


मतदान

तस्बिर स्रोत, EPA

निर्वाचन आयोगले प्रत्यक्षतर्फ १६५ क्षेत्रको परिणाम घोषणा गरिसकेको छ। समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको छ।

प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतको अनुपातका आधारमा अब नयाँ प्रतिनिधिसभाको नयाँ संरचना कस्तो हुन्छ भन्ने सङ्केत स्पष्ट भइसकेको छ।

प्रत्यक्ष र समानुपातिक मत दुवैतर्फ रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। तीसहित यसपालि छवटा दलले ‘राष्ट्रिय पार्टी’को मान्यता पाउने गरी प्रत्यक्ष प्रणालीमा सीट जितेका छन् भने समानुपातिक मतमा पनि तीन प्रतिशत मत कटाएका छन्।

यद्यपि केही पुराना दलले राष्ट्रिय पार्टीको मान्यता गुमाउने भएका छन्। नवगठित श्रम संस्कृति पार्टीले संसद्‌‌ प्रवेश गर्ने अवसर मात्र नभई राष्ट्रिय पार्टीको मान्यता पाउने पनि देखिएको छ।

कोशी प्रदेशका तीन स्थानमा प्रत्यक्ष निर्वाचन जितेको उक्त दलले समानुपातिक प्रणालीबाट पनि थप सीट सुनिश्चित गरिसकेको छ। प्रत्यक्षमा एक सीट जितेको राष्ट्रिय प्रतातन्त्र पार्टीले समानुपातिक सीट पाउने प्रबल सम्भावना छ। तर उक्त दल यसपालि प्रतिनिधिसभामा छैटौँ स्थानमा सीमित हुने छ।

विगतमा राष्ट्रिय दल रहेका जसपा-नेपाल र जनमत पार्टीले प्रत्यक्षतर्फ कुनै सीट जित्न सकेनन्। प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा तीन प्रतिशतभन्दा कम मत ल्याउने दलहरूको मत “दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन” भन्ने व्यवस्था उल्लेख छ।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ५७ निर्वाचन चिह्न प्रयोग गरेर दलहरूले निर्वाचनमा भाग लिएका थिए।
के फरक पर्छ?राष्ट्रिय दलले अर्को निर्वाचनसम्मका लागि आफ्नो चुनाव चिह्न सुरक्षित गर्न पाउने कानुनी व्यवस्था छ।

तर राष्ट्रिय दल नभए पनि दुई जनाभन्दा धेरै सांसद भएका दलहरूलाई संसदीय दलको कार्यालय सहितका सुविधा उपलब्ध गराउने अभ्यास छ।

राष्ट्रिय दल नभए पनि आफ्ना सांसदहरूलाई पार्टीले दलको ‘ह्विप’ लगाउन सक्ने यसअघिको संसदीय नजिरबाट स्थापित भइसकेको कतिपयको बुझाइ छ।



Source link