Skip to main content

नेपाल निर्वाचन २०८२: प्रधानमन्त्री नियुक्तिका दुइटा बाटा, यस्तो छ नयाँ सरकार बन्ने प्रक्रिया

बालेन शाह

तस्बिर स्रोत, Reuters

समानुपातिकतर्फको मतगणना सकिएपछि पनि नयाँ सरकार गठन हुन अझै एक साताभन्दा बढी समय लाग्ने देखिएको छ।

राष्ट्रपतिको कार्यालयले निर्वाचन आयोगबाट अन्तिम मतपरिणामसम्बन्धी प्रतिवेदन प्राप्त भएपछि मात्र सरकार गठनका निम्ति आह्वान गरिने जनाएको छ भने आयोगका एक सहायक प्रवक्ताले उक्त प्रतिवेदन तयार हुन अझै एक साता लाग्न सक्ने आकलन गरेका छन्।

“आयोगले प्रतिवेदन बुझाइसकेपछि संसद् डाकेर संसदीय प्रक्रियाअनुसार जाने कि पहिल्यै प्रधानमन्त्री नियुक्त गर्ने भन्ने दुइटा प्रक्रिया छन्,” आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले बीबीसीसँग भने, “कसरी जाने भन्ने उहाँहरूको कुरा हो, प्रतिवेदन बुझाइसकेपछि आयोगको पाटोचाहिँ टुङ्गिन्छ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहप्रवक्ता प्रतिभा रावलले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्नेमा आफूहरू प्रष्ट रहेको तर त्यससम्बन्धी प्रक्रियागत विषयहरू भने पार्टीले टुङ्गो लगाउनै बाँकी रहेको बीबीसीसँग बताइन्।

अहिलेसम्मको मतगणनाअनुसार उक्त दलले स्पष्ट बहुमत हासिल गरिसकेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा समानुपातिक मतगणनातर्फ पनि अग्रस्थानमा छ।