Skip to main content

‘नेपालको आकाशमा देखिएको चम्किलो दृश्य रकेटको हुनसक्छ’


१ चैत, काठमाडौं । नेपालका विभिन्न स्थानहरूबाट आज साँक्ष आकाश चम्किलो उज्यालो दृश्य देखियो । यो दृश्यका कारण धेरैले अनेकौ अनुमानहरू गरिरहेका छन् ।

आकाशका अकस्मात देखिएको यो दृश्य आकाश पिण्डमा आएको कुनै बदलाव होइन । वैज्ञानिकहरूका अनुसार यो रकेट प्रक्षेपणका कारण देखिएको दृश्य हुनसक्छ । नेपाल अन्तरिक्ष अनुसन्धान केन्द्रका प्रमुख हरिनारायण श्रेष्ठका अनुसार रकेटहरू प्रक्षेपण गर्दा धेरै माथि जान्छ र रातको समयमा त्यसको उज्यालो देखिएको हुनसक्छ ।

अहिले स्पेस एक्सले फलोरिडा र क्यालिफोर्नियाबाट यस्ता प्रक्षेपणहरू गरिरहेको छ । त्यसको कारण पनि देखिएको हुनसक्छ । तर यो कहाँबाट प्रक्षेपण गरेका कारण यहाँ दृश्य देखिएको हो भन्ने अहिले नै भन्न गार्‍हो छ । यस्तो दृश्यलाई ‘स्पेस जेलिफिस’पनि भनिन्छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश  भट्टराई पनि यो सामान्य दृश्य भएको बताउँछन् । ‘मान्छेहरू अहिले आकाशमा हेर्न थालेका छन् । पहिला पनि हुन्थ्यो तर हेर्दैनथिए । आजकाल चाहिँ हेर्न थालेका छन् । पब्लिकले चाहिँ भ्यालिडेट विषयहरू मात्रै सेयर गर्नुपर्ने हुन्छ । यतिकै सामाजिक सञ्जालमा आएका विषयलाई पत्याउन हुँदैन’ उनले भने ।

सोसाइटीले उक्त दृश्यबारे आइतबार आफ्नो पेजमा लेखेको छ- ‘आज साँझ नेपालका विभिन्न स्थानहरूबाट आकाशमा देखिएको उज्यालो दृश्य वास्तवमा नेपालमाथि उडेको रकेट होइन। सम्भावित रूपमा चीनबाट प्रक्षेपण गरिएको रकेट पृथ्वीबाट करिब २००–४०० किलोमिटर उचाइमा पुगेपछि त्यसको धुवाँ सूर्यको प्रकाशले उज्यालो भएर देखिएको घटना हो ।’

रकेट यति धेरै उचाइमा पुगेपछि त्यसबाट निस्कने ग्यास धेरै फैलिन्छ र पृथ्वीका हजारौँ किलोमिटर टाढासम्मबाट पनि देखिन सक्छ । त्यसैले नेपाल, भूटान, भारतको असम लगायतका क्षेत्रबाट पनि एकै समयमा यो दृश्य देखिएको हुन सक्छ।

‘महत्वपूर्ण कुरा के हो भने, यस्तो अवस्थामा रकेट नेपालमाथि उडिरहेको हुँदैन। त्यो धेरै टाढा, सम्भवतः नेपालभन्दा उत्तरतर्फ चीन वा तिब्बतको आकाशमाथि रहेको हुन्छ। तर अत्यन्त उचाइका कारण यसको उज्यालो धुवाँ नेपालबाट पनि देखिन्छ ।यस प्रकारको घटनालाई वैज्ञानिक भाषामा “ट्वाइलाइट रकेट प्लुम” भनिन्छ, जुन उपग्रह प्रक्षेपणका क्रममा कहिलेकाहीँ देखिने सामान्य खगोलीय दृश्य हो।’

चीनको समाचार संस्था सिजिटिएनका अनुसार चीनले आइतबार याओगान–५० ०२ रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । यो उपग्रह ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार राति ९:२२ बजे लङ मार्च–६ रकेटको परिमार्जित संस्करणमार्फत प्रक्षेपण गरिएको थियो । प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको सिजीटिएनले जनाएको छ ।

तर आज साँझ नेपालको आकाशमा देखिएको दृश्य चीनको प्रक्षेषणकै हो भन्ने यकिन चाहिँ बैज्ञानिकहरूले गर्न सकेका छैनन् । अनुमान मात्र गरेका छन् ।