Skip to main content

नेपाल निर्वाचन २०८२ बालेन : रास्वपा सरकारमा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ

रवि लामिछाने र बालेन शाह

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, निर्वाचनमा सहभागी हुँदा रास्वपाले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो

समानुपातिक निर्वाचन प्रणालीतर्फको पनि मतगणना सकिएसँगै धेरैको ध्यान नयाँ सरकार कहिलेसम्म बन्छ भन्नेतर्फ मोडिएको देखिन्छ।

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी दुईतिहाइ बहुमतनजिकै पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्। निर्वाचनमा सहभागी हुँदा पार्टीले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।

रास्वपाका एक नेताले समानुपातिक सांसदहरूको टुङ्गो लागेसँगै सरकार गठनको विषयमा आफूहरूले छलफल अगाडि बढाउने बीबीसीलाई बताए।

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद छान्न दलहरूलाई चाँडै चिठी पठाउने आयुक्त सगुन शम्शेर जबराले बीबीसीलाई बताए। “सकेसम्म आजै पत्र पठाउने हाम्रो प्रयास छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

समानुपातिक सांसद छान्नका निम्ति दुई दिनको समय दिन सकिने भन्दै जबराले चैत्र ५ गतेभित्र अन्तिम निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने योजना रहेको जनाए।


Latest Articles