धरानमा भूपू गोर्खाहरूले नवनिर्वाचित सांसद हर्कराज (साम्पाङ) र क्याप्टेन पूर्णप्रसाद लिम्बू सम्मानित

३ फागुन, सुनसरी। धरानका गोर्खा भूपू लाहुरे समुदायले मंगलबार श्रम संस्कृति पार्टीका अध्यक्ष र नवनिर्वाचित सांसद हर्कराज राई (साम्पाङ) र समानुपातिक सांसद क्याप्टेन पूर्णप्रसाद लिम्बूलाई सम्मान गरेको छ। ब्रिटिश गोर्खा भूपू सैनिक, भारतीय गोर्खा भूपू सैनिक र सिंगापुर पुलिस फोर्सका भूपू सैनिकहरूको साझा संस्था गोर्खा चौतारीले यो सम्मान प्रदान गरेको हो।
गोर्खा चौतारीका सक्रिय सदस्य ब्रिटिश गोर्खा लाहुरे सुवर्ण नेम्बाङका अनुसार, सांसद साम्पाङ र लिम्बूलाई राष्ट्रको संसदमा पुगेर मुलुक र जनताको हितमा रचनात्मक र सक्रिय भूमिका खेल्नका लागि हौसला दिँदै बधाई र सम्मान गरिएको हो। उनले भने, ‘सरकार अरु दलले चलाएपनि संसदमा उहाँहरूले स्वास्थ्य, शिक्षा, समृद्धि, रोजगारी र सुशासनको पक्षमा अडिग रहेर सकारात्मक भूमिका खेल्न सकुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो।’
ब्रिटिश भूपू गोर्खा सैनिकका तर्फबाट रेजिमेन्टल एसोसिएसनका अध्यक्ष गोर्खा मेजर झप्तमान लिम्बू, भारतीय भूपू गोर्खा सैनिकका तर्फबाट इण्डियन एक्स सर्भिसमेन एसोसिएसनका अध्यक्ष क्याप्टेन नेत्रप्रसाद निङ्लेकु लिम्बू, र सिंगापुर पुलिसफोर्सका भूपूका तर्फबाट एक्स सर्भिसमेन स्टाफ सार्जन्ट धनबहाुदर घलेले संयुक्त हस्ताक्षर गरेको सम्मान पत्र सांसद साम्पाङ र लिम्बूलाई प्रदान गरिएको थियो।






