Skip to main content

टाईम्सले तेस्रो जित दर्ता गर्यो

समाचार सारांश

  • टाइम्स इन्टरनेसनलले हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ मा सोलो बास्केटबल क्लबलाई ८८-७५ ले पराजित गरेको छ।
  • टाइम्सका कप्तान सदिश प्रधानले २२ अंक बनाएर म्यान अफ दि म्याच घोषित भएका छन्।
  • लिगमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स इन्टरनेसनल क्लबले आफ्नो तेस्रो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको प्रतिस्पर्धामा टाईम्सले सोलो बास्केटबल क्लबलाई ८८-७५ को फरकले पराजित गरेको हो।

खेलमा टाईम्सले पहिलो क्वाटरमा २३-१२ र दोस्रो क्वाटरमा २४-१६ को अग्रता कायम गर्दै हाफ टाइममा ४७-२८ को प्रभुत्व जमाएको थियो।

त्यसपछि सोलोले पुनरागमन गर्ने प्रयास गर्यो तर सफल हुन सकेन। तेस्रो क्वाटरमा सोलोले २३-२० र चौथो क्वाटरमा २४-२१ को अग्रता लिए पनि हार टार्न सकेन।

टाईम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २२ अंक बनाएर म्यान अफ दि म्याच घोषित भएका छन्।

चार खेलमा तीन जित र एक हारपछि टाईम्सले ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। समान अंकमा गर्दा विभागीय टोली त्रिभुवन आर्मी शीर्ष स्थानमा रहेको छ।

सोमबार राति सम्पन्न खेलमा आर्मीले कीर्तिपुरलाई ९२-७८ ले हराउँदै आफ्नो तेस्रो जित दर्ता गरेको थियो।

आर्मीले क्रमशः ३१-२३, २८-१०, २२-१९, ११-२६ को स्कोर देखायो। टोलीका निश्चल महर्जनले २२ अंक बनाएर उत्कृष्ट प्रदर्शन गरे।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजकत्वमा जारी यस दोस्रो संस्करणको एचजेएनबीएलमा आठ टिमहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

डबल राउन्ड रोबिन फारम्याटमा लिइएको लिगमा कुल ५६ खेल खेलिनेछ। लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत पहिलो र दोस्रो स्थानमा रहने टोली बीच पहिलो क्वालिफायर खेल हुनेछ भने तेस्रो र चौथो स्थानमा रहेको टोली बीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा हार्ने टोली र एलिमिनेटरका विजेताबीच दोस्रो क्वालिफायर हुनेछ। अन्तिम फाइनलमा पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच प्रतिस्पर्धा हुनेछ।

तस्बिर: एचजेएनबीएल