
समाचार सारांश
संपादकीयरूपमा समीक्षा गरिएको।
- सुर्खेतमा १६ वर्षीया इनिसा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण निधन भएकी छन् र प्रहरीले चार नाबालकलाई पक्राउ गरेको छ।
- इनिसाका बुवाअइन्द्रबहादुरले १० वर्षअघि ४ वर्षीय छोरा गुमाएका थिए र छोरीको बलात्कारपछि हत्या भएको घटनाले परिवार शोकमा डुबेको छ।
- प्रहरी वैज्ञानिक अनुसन्धान अघि बढाइरहेको छ र पोस्टमार्टम रिपोर्टले जबरजस्ती करणीका कारण मृत्यु पुष्टि गरेको छ।
३ चैत, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१ मा रेडियो नेपाल नजिकै एउटा नयाँ एकतले घर छ । घरको रङरोगन र फिनिसिङ भर्खरै सकिएको छ । इन्द्रबहादुर विकले दुबईको तातो घाममा पसिना बगाएर बनाएको यो घर मात्र इँटा र सिमेन्टको संरचना होइन, यो छोरी इनिसाको ‘डाक्टर’ बन्ने सपना हो । तर त्रासदी ! यो घरमा सन्तान वियोगको दोहोरिएको पीडा छ । जहाँ खुसीका रंगहरू छर्नुपर्ने थियो, त्यो घर आज शोकको सागरमय छ ।
चार वर्षे छोरा इसान गुमाएका इन्द्रबहादुर र तिला दम्पतीले १० वर्षपछि १६ वर्षीया छोरी इनिसालाई पनि गुमाएका छन् । २०७२ सालमा छोरा भक्तपुरमा मृत भेटिएपछि, २०८२ सालमा छोरी पनि सुर्खेत अस्पतालमा मृत अवस्थामा देखिनुप¥यो ।
‘छोरी पढाइमा अत्यन्तै मेहेनती थिइन्, सानैदेखि डाक्टर बन्ने सपना बुनेकी थिइन्,’ इन्द्रबहादुर भावुक हुँदै भन्छन्, ‘छोरीको खुशीका लागि म खाडी पसिना बगाइरहेको थिएँ, तर आज मेरो कमाइले बनेको घरमा ऊ छैन ।’
२३ गते बिहान वीरेन्द्रनगरको जनजागरण सामुदायिक वनमा इनिसा बेहोस अवस्थामा फेला परेकी थिइन् । अस्पताल पुर्याउँदा ढिलो भइसकेको थियो र चिकित्सकले मृत घोषणा गरे । पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि गरेको छ ।
इन्द्रबहादुरका लागि यो पीडा नयाँ होइन । ठीक १० वर्षअघि, २०७२ वैशाख ३० गते ४ वर्षीय छोरा इसानलाई भक्तपुरको सिद्धी अस्पतालको आईसीयूमा गुमाएका थिए । उसलाई तीन दिन लामो कडा ज्वरोले च्युत बनायो । त्यतिबेला उनी सेनाको कमाण्डो तालिममा थिए ।
‘जब छोरा बित्यो, मैले भगवानसँग प्रार्थना गरेको थिएँ, फेरि यस्तो दुःख नदिन्,’ उनी रोदैं भन्छन्, ‘तर भगवान पनि निर्दयी रहेछन्, अहिले फेरि छोरीको शव देख्नुपर्यो ।’
छोरीसँग अन्तिम संवाद
नेपाली सेनाबाट अवकाश पाएपछि इन्द्रबहादुरले विश्राम लिन सक्थे, तर छोरी इनिसाको सपनालाई पूरा गर्न उनले दुबई जानुपर्यो । १६ वर्षीया छोरीको आँखामा उनी डाक्टर बन्ने सपना देखेका थिए । तर सेनाको पेन्सनले त्यो सम्भव थिएन । त्यसैले ६ वर्षअघि उनी श्रम बेच्न दुबई गएका थिए ।
गत फागुन २२ गते बेलुका दुबईबाट इन्द्रबहादुरले छोरीसँग भिडियो कल परे । पढाइ र तरिकाको कुरा भयो । तर भोलिपल्ट मोबाइलमा धेरै मेसेज र मिस्ड कल आए । अर्को देशमा बस्ने भाइले भन्यो, ‘इनिसा अब यो संसारमा छैन ।’
इन्द्रबहादुरले भने, ‘त्यो खबर सुन्दा मेरो शरीर काँप्न थाल्यो, मुटुवाट जीवन छोडेको जस्तो लाग्यो।’
२४ गते उनी दुबईबाट नेपाल आउन खोजे तर मध्यपूर्वको द्वन्द्वका कारण विमानस्थल बन्द थियो । दुई दिन एयरपोर्टमा बिताएपछि अर्को शहरको एयरपोर्टबाट तीन दिनपछि नेपाल फर्किए । २७ गते राति घर पुगेपछि २८ गते बिहान घटनास्थल पुगेर छोरीको शव हेरे र प्रहरीसँग भेटेर अनुसन्धानको जानकारी लिए ।
दिनभर प्रहरी, मिडिया, अधिकारकर्मी र विभिन्न संघसंस्थाबाट घेरिएकी इन्द्रबहादुर बेलुका घर पुग्दा भक्कानिन्छन् । भेटघाटका क्रममा पनि आफूलाई एक्लोपना लाग्छ । छोरीको बाल्यकालीन हरकतहरूको सम्झनाले सताउँछ ।
उनका आँखाहरूले सधैं इनिसालाई खोज्छन् – कोठा, भान्सा, छत, आँगन, घर अगाडिको बाटोमा सम्म । ‘कहिले कतैबाट पछाडि बाट अनायास उफ्रिएर आऊँछे जस्तो लाग्छ, बाबा कति बजे आयौ? भन्दै सोध्ने तर्फ हुन्छ,’ उनी भनाइमा गहिरो वेदना पोख्छन् ।
छोराछोरीको उज्जवल भविष्यका लागि इन्द्रबहादुर सुरक्षा गार्डको काम गर्न दुबई गएका थिए । उनकी श्रीमती तिला वीरेन्द्रनगरमा छोरी पढाउन बस्ने काम थालिन् । इनिसा पढाइमा प्रखर थिइन् र सानैदेखि डाक्टर बन्ने सपना पाल्दै कक्षा ११ मा विज्ञान पढ्दै थिइन् ।
‘पेन्सनले छोरीको सपना पूरा गर्न मौका थिएन, त्यसैले दुबईमा सुरक्षित गार्डको जागिर थाप्न पुगेँ,’ उनले बताए ।
इनिसा मिलनसार र जेहनदार थिइन्, शिक्षक इन्द्रप्रसाद चापागाईं भन्छन्, ‘शिक्षक र साथीहरूसँग सद्भाव थियो र कहिल्यै कुनै गुनासो आएन ।’
हालसम्म उनलाई मोबाइल थिएन, तर दुई महिनाअघि इन्द्रबहादुरले फोन र आइप्याड दुवै उपहार दिएका थिए । इनिसाले फोन होइन, आइप्याड चाहन्थिन् ताकि पढ्न सजिलो होस् ।
इन्द्रबहादुरको अनुसार, इनिसा कुनै बाह्य जगत बुझ्दिन थिइन्, साहित्य, खेलकुदमा जस्तै । उनी घर, स्कूलमा मात्र केन्द्रित थिइन् ।
समाजको दिर्घ रोग

आफ्ना छोराछोरीलाई अशिक्षा, अभाव, जातीय विभेद र दमनबाट जोगाउन चाहन्थे इन्द्रबहादुर । ‘हामीले भोगेको यी सबै दुःख, छोराछोरीले नआनहोस् भनेर म खाडीमा पसिना बगाएँ,’ उनी सम्झन्छन्, ‘हाम्रो ठूलो सपना थियो तर नियतिले माटोमै छोपिदियो ।’
उनले गरिबी, जातीय विभेद र आर्थिक अभावसँग जुधे, तर सामाजिक पितृसत्तात्मक र हिंस्रक सोचसँग पराजय भोग्नुपर्यो ।
‘छोरीलाई हामीले सधैं सुखी राख्यौं, अभाव कहिल्यै महसुस गराइनौं। तर हामीले यो समाजको कुरुप र विकृत तस्वीर देखाउन बिर्सियौँ,’ उनले पछुतो प्रकट गरे, ‘हामीले छोरीलाई स्पष्ट चेतावनी दिनुपर्ने थियो – यो समाजमा जो कोहीबाट पनि कुनैपनि बेला जोखिम हुन सक्छ।’
अनुसन्धान कता छ?
बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २३ गते एक जनालाई घटनास्थलबाटै पक्राउ गरेको थियो। २४ गते थप तीन जनालाई पक्राउ गरिएको छ । चारै जना नाबालक छन् (१८ वर्ष मुनिका) ।
२५ गते परिवारले चार जनाविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी उजुरी दिएका छन् । पक्राउ परेका १६ वर्षीय युवाले बयानमा भर्जिनिटी भत्काउँदा अत्यधिक रगत बगेको आधारमा मृत्यु भएको बताएका छन् ।
अनुसन्धानको प्रगति
प्रहरी वैज्ञानिक अनुसन्धान अघि बढाइरहेको छ । सीआईबी टोली, पोलिग्राफ विज्ञ र नेपालगन्जबाट आएका विश्लेषकहरू अनुसन्धानमा सक्रिय छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधिर राज शाहीका अनुसार बिहीबार सुर्खेत पुगेका यी टोलीले छिट्टै निष्कर्ष निकाल्नेछन् ।
पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणी गर्दा संवेदनशील अंगहरू क्षतिग्रस्त भएकाले अत्यधिक रक्तस्रावले मृत्यु भएको पुष्टि भएको छ । फरेन्सिक तथा विष विष्लेषणसँग सम्बन्धित परीक्षणहरू चलिरहेको छ ।
न्यायको माग

पीडित पक्षलाई न्याय र दोषीहरूलाई कडा कारबाहीको माग गर्दै देशभर प्रदर्शन भइरहेका छन् । विभिन्न संघसंस्था र राजनैतिक दलसम्बद्ध संगठनहरू पनि सहभागी छन् ।
इनिसाका बुवाले पनि न्यायको माग गरेका छन् ।
‘अनुसन्धानमा विभिन्न ठाउँबाट हस्तक्षेप र तोडमोडका प्रयास भइरहेका छन्,’ इन्द्रबहादुर भन्छन्, ‘न्याय नपाएसम्म छोरीको शव बुझ्नेछैनौं र कारण बनेहरूलाई कानुनी कारबाही होस् भनी आग्रह गरेको छु ।’
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));






