
तस्बिर स्रोत, Getty Images
इरानले देशको सुरक्षा प्रमुख अलि लारिजानी इजरायलको आक्रमणमा मारिएको पुष्टि गर्दै यसको “निर्णायक” प्रतिवाद गरिने चेतावनी दिएको छ।
लारिजानी इरानमाथि अमेरिका र इजरायलको आक्रमण सुरु भएयता मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईपछि दोस्रो शीर्ष अधिकारी हुन्।
इजरायली सञ्चारमाध्यमका अनुसार उनी आफ्ना छोरासँगै लुकेर बसेका बेला आक्रमण गरिएको थियो।
लारिजानी सन् २०२५ अगस्तदेखि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को प्रभावशाली सचिव थिए।
उक्त परिषद्मा उनलाई हालै मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको प्रतिनिधिका रूपमा चित्रण गरिन्थ्यो।
इजरायली हवाई आक्रमणमा लारिजानी मारिएपछि इस्लामिक गणतन्त्रलाई एउटा संवेदनशील घडीमा देशका सबैभन्दा अनुभवी र प्रभावशाली नीति निर्माताहरूको अभाव हुनसक्छ।
लारिजानी सैन्य कमान्डर नभए पनि इरानको रणनीतिक निर्णय प्रक्रियामा उनी केन्द्रीय भूमिकामा थिए।
सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवको भूमिकामा उनी युद्ध, कूटनीति र राष्ट्रिय सुरक्षाका निर्णय प्रक्रियाको केन्द्रमा थिए।
अमेरिका र इजरायलसँग इरानको टकराव व्यवस्थापनमा उनको भनाइ इरानको सबै प्रणालीमा लागु हुन्थ्यो।
फेब्रुअरी २८ मा सर्वोच्च नेता अली खामेनेई मारिएपछि लारिजानीले इरान लामो सङ्घर्षका लागि तयार रहेको संकेत गरेका थिए।
पश्चिमाविरुद्ध कट्टर अडान लिए पनि इरानभित्र भने लारिजानीलाई व्यवहारवादी नेताका रूपमा हेरिन्थ्यो। उनले वैचारिक विषयलाई जडतामा भन्दा रणनीतिक दृष्टिकोणबाट व्याख्या गर्थे।
पश्चिमा देशहरूसँग सहकार्यबारे गहिरो आशंका गर्ने लारिजानीले चीनसँग इरानको दीर्घकालीन सम्झौता सहितका कूटनीतिक प्रयासहरूमा दूतको रूपमा काम गरेका थिए।
तीन संकटका व्यवस्थापक
तस्बिर स्रोत, Getty Images
उनको मृत्युको समयमा लारिजानी तीन वटा प्रमुख संकटको व्यवस्थापन गरिरहेका थिए।
उनले व्यवस्थापन गरिरहेको पहिलो संकट युद्ध थियो। इरानले लामो संघर्षका लागि तयार रहनुपर्ने, क्षेत्र वरपर द्वन्द्व विस्तार गर्नुपर्ने र स्ट्रेट अफ होर्मुज बन्द गरिनुपर्ने तर्क उनैले अघि सारेका थिए।
उनले सम्हालिरहेको दोस्रो संकट आन्तरिक अशान्तिको लहर थियो। आर्थिक असन्तुष्टिबाट सुरु भएको यो संकटले व्यापक विरोध प्रदर्शनको स्वरूप लिएर इस्लामिक गणतन्त्रको पतन प्रयासमा परिणत भयो। जसमाथि सरकारले व्यापक दमन गर्दा देशभरि हजारौँ प्रदर्शनकारी मारिएको थियो।
तेस्रो विषय भनेको इरानको आणविक कार्यक्रम र वाशिङ्टनसँगको रोकिएको वार्ता हो। संयुक्त सैन्य आक्रमणपछि यी दुवै विषय अवरुद्ध भएका छन्।
लारिजानीको मृत्यु हुँदा उनले व्यवस्थापन गरिरहेका सबै विषय कुनै निष्कर्षमा पुगेका छैनन्। अब यो नाजुक परिस्थितिमा उनको जिम्मेवारी सम्हाल्न को आउँछ भन्न पनि स्पष्ट छैन।
नेतृत्वमा सम्भावित संकट
तस्बिर स्रोत, Anadolu via Getty Images
इरानले विश्वको ऊर्जा बजारलाई अवरुद्ध गरेर प्रतिवाद देखाए पनि उसको हवाई क्षेत्र निरन्तरको आक्रमणका लागि खुल्ला देखिन्छ। जसले अरू वरिष्ठ नेताहरू पनि तत्काल निशानामा पर्न सक्ने जोखिम कायम राख्दछ।
यो घटनाले सेनालाई अझ शक्तिशाली बनाउने अपेक्षा गरिएको छ। राष्ट्रपति मसउद पेचेस्कीयानले केही वरिष्ठ नेताहरु आदेश दिन नसक्ने अवस्थामा परे सशस्त्र फौज आफैंले नेतृत्व गरेर प्रभावकारी रूपमा सञ्चालन गर्न भनेका थिए। यसको अर्थ केन्द्रीय समन्वयको निर्भरता कम गरी फौजलाई तत्काल निर्णय लिन सजिलो बनाउनु हो।
यता इरानको नेतृत्वले आफ्नो उत्तराधिकारी व्यवस्थापनमा संघर्ष गरिरहेको सङ्केतहरू पनि देखिएका छन्।
इरानले तत्कालका लागि नयाँ सर्वोच्च नेताको सार्वजनिक घोषणा स्थगित गरेको छ र मोज्तबा खामेनेई सहित केही व्यक्तित्वहरूलाई सार्वजनिक गरेको छैन। यो उनीहरूको सुरक्षा वा आन्तरिक अस्थिरताका कारण हो भन्ने स्पष्ट छैन।
हालका सम्भावित परिणामहरू अझ अस्थिर स्थिति निम्त्याउन सक्छन्, अर्थात् युद्धमा कठोर सैन्य प्रस्तुति र आन्तरिक रूपमा थप दमन।
तर समयसँगै आफ्ना वरिष्ठ अधिकारीलाई गुमाउँदै गएको प्रणालीलाई प्रभावकारी बनाउन कठिनाइ आइरहनेछ, जसले ९ करोड जनसंख्या भएको देशलाई थप चुनौतीपूर्ण बनाउँछ।
यस अर्थमा, लारिजानीको मृत्यु केवल एक अधिकारीको क्षति मात्र होइन; यसले युद्ध र देशभित्रको स्थायित्व दुबैमा नेतृत्वको संकटलाई गहिरो बनाउने सम्भावना छ।
बीबीसीको नेपाली यूट्यूब च्यानल पनि छ। हाम्रो च्यानल सदस्यता लिन र प्रकाशित भिडियोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईं हाम्रो सामग्री फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हेर्न सक्नुहुन्छ। बीबीसी नेपाली सेवाको कार्यक्रम सोमबारदेखि शुक्रवार साँझ पौने नौ बजे रेडियोमा प्रसारण हुन्छ।






