
समाचार संक्षेप
संपादकीय समीक्षा पश्चात प्रस्तुत।
- पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङस्थित सुन गुफालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयवासी सक्रिय भएका छन्।
- सुन गुफाको संरक्षण र विकासका लागि २०७६ सालमा कार्यालय भवन निर्माण भइसकेको छ र करिब ५० लाख रुपैयाँ बराबरको पूर्वाधार विकास सम्पन्न छ।
- पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले सुन गुफा प्रवर्द्धनसँगै कृषि पर्यटनलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिए ।
४ चैत, गण्डकी । पर्यटकीय राजधानी पोखरा गुफाहरूको शहर पनि हो। यहाँ रहेको महेन्द्र, चमेरे, गुप्तेश्वर महादेव लगायतका गुफाहरूले पर्यटकीय आकर्षण थपेका छन्।
विभिन्न रहस्यमय गुफाका कारण पोखरा आउने पर्यटकको बसाइँ पनि लम्बिने गरेको छ। यस्तै अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङस्थित सुन गुफालाई अर्को नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अहिले यहाँका स्थानीयवासी सक्रिय भएका छन्।
करिब डेढ किलोमिटर लामो अनुमान गरिएको उक्त गुफा तिक्लाङ खेलमैदानको बीचबाट सेती नदीतर्फ स्थित चुनेपहरोसम्म फैलिएको स्थानीयले बताए।
स्थानीयहरु यस गुफाबारे पहिलेबाट जानकारी भए पनि यसको पर्यटकीय उपयोगप्रति चासो विस्तारै बढेको चुने पहरा सुन गुफा संरक्षण समितिका अध्यक्ष सङ्गीत बानियाँले बताए।
गुफाको संरक्षण र विकाससँगै पर्यटन प्रवर्द्धनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले चासो देखाउनु भएको उनले बताए।
अधिकारीका साथै पछि यहाँका प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, तत्कालीन वडाध्यक्ष शिवप्रसाद आचार्य र वर्तमान वडाध्यक्ष रामचन्द्र अधिकारीले यस गुफाको विकास र प्रवर्द्धनमा सहयोग गर्दै आएका छन् भनी अध्यक्ष बानियाँले उल्लेख गरे।
पछिल्ला वर्षमा यसको पूर्वाधार विकासतर्फ पनि राज्यको चासो बढेको छ। हालसम्म संघीय र स्थानीय बजेटबाट करिब ५० लाख रुपैयाँ बराबरको पूर्वाधार विकास कार्य सम्पन्न भइसकेको उनले बताए।
गुफाको संरक्षण, प्रवर्द्धन र विकासका लागि २०७६ सालमा कार्यालय भवन निर्माण भइसकेको छ। अध्यक्ष बानियाँले गुफाको प्रवेशद्वारसहित परिसर व्यवस्थापन, सिँढी बाटो निर्माणलगायत कार्यहरू सम्पन्न भएको जानकारी दिनुभयो।
गुफासहित करिब ३० रोपनी जग्गाको क्षेत्रफल रहेको छ। अध्यक्ष बानियाँका अनुसार यस गुफाभित्र प्राकृतिक रूपमा बनेका विभिन्न आकृति र ठूलो सङ्ख्यामा चमेरा अवलोकन गर्न सकिन्छ।
पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै गुफा प्रवेशका लागि बिजुली बत्ती, शौचालय लगायत पूर्वाधार निर्माण पूरा गरी पर्यटकका लागि औपचारिक रूपमा खोल्ने योजना बनाइएको छ। त्यहाँ धार्मिक रूपमा पनि प्राचीन महत्व रहेको उनले बताए।
पृथ्वीराजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३० पावरहाउसबाट करिब १० मिनेटको पैदल यात्रा दूरीमा पुग्न सकिने यो गुफा पोखराको मुख्य बजारबाट सार्वजनिक यातायातमार्फत सजिलै आउने-जाने सकिन्छ। गुफाभन्दा माथि रहेको तिक्लाङ चोकसम्म पोखरा महानगरपालिकाका सार्वजनिक बसहरू नियमित सञ्चालन भइरहेका छन्।
पछिल्ला समय कृषि पर्यटनको आकर्षक केन्द्र बनेको तिक्लाङसहित समग्र बागमारा क्षेत्र दूधको सहरको रूपमा परिचित छ। गुफा अवलोकन गर्न आउने पर्यटकहरूले यस क्षेत्रका दूध, तरकारी आदिलाई कोसेलीका रूपमा लैजान सक्नेछन्।
पोखराको दोभिल्ला हुँदै पुडिटारसम्म विश्व बैंकको सहयोगमा बनेको फराकिलो सडकका कारण क्षेत्रको रूपान्तरण भएको स्थानीय बताउँछन्। गुफासहित क्षेत्रको पर्यटकीय विकासलाई प्राथमिकतामा राखिएको पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए।
‘‘हामीले यस क्षेत्रका सम्भावनालाई उजागर गर्न खोजेका छौँ,’’ उनले भने, ‘‘सुन गुफाको प्रवर्द्धनसँगै यहाँका कृषि पर्यटन सम्भावनालाई पनि जोड्दै लैजाने हाम्रो लक्ष्य छ।’’
सुन गुफालाई पर्यटकीय सम्भावनाले भरिपूर्ण गन्तव्य बताउने युवा पदम थापाले यसको पर्यटकीय उपयोगमा सबैको चासो पुग्नुपर्नेमा जोड दिए। संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार हुन सक्दा आन्तरिक पर्यटन विकास र विदेशी पर्यटकको अवधी बढाउनेमा मद्दत पुग्नेमा उनी विश्वस्त छन्।
‘‘गुफा अवलोकनका लागि पर्यटकको आगमन बढ्न सकेमा स्थानीयहरुको रोजगार अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्नेछ,’’ उनले भने, ‘‘बढ्दो पर्यटक आगमनले उत्पादनहरूको बजार विकासमा पनि सहयोग पुग्ने भएकाले अर्थतन्त्र सञ्चालन गर्न गुफाको पर्यटकीय उपयोग आवश्यक छ।’’






