Skip to main content

सी जिन्पिङ: नेपालमा चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको घटनाको छानबिन सुरु

हङ्‌कङमा आयोजित पुस्तक मेलामा चिनियाँ राष्ट्रपतिद्वारा लिखित पुस्तक 'सी जिन्पिङ - द गभर्नन्स अफ चाइना आईभी'

तस्बिर स्रोत, NurPhoto via Getty Images

पूर्वी नेपालस्थित शैक्षिक संस्थानमा चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको विषयमा बेइजिङले कूटनीतिक ध्यानाकर्षण गरेपछि छानबिन सुरु गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।

मोरङ जिल्ला प्रशासन कार्यालयले उक्त संवेदनशील विषयमा छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए।

“सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरेका छौँ। यसको समय सीमा १५ दिन राखिएको छ,” कट्टेलले उल्लेख गरे।

“टोलीले तथ्य अनुसन्धान गर्नेछ, दोषी भए कारबाहीको सल्लाह दिनेछ र भविष्यमा यस्ता घटना नहोस् भन्नका लागि सुझाव पनि प्रदान गर्नेछ।”

पुस्तक जलाउने घटना के थियो?

मोरङको बूढीगंगामा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता मनमोहन अधिकारीको नाममा स्थापना गरिएको मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चिनियाँ राष्ट्रपतिका तस्वीर सहितको पुस्तक जलाइएको भिडिओ फेसबुक पेज ‘लाइभ न्यूज रफ्तार’ मा पोस्ट गरिएको थियो।