Skip to main content

व्यावसायिक खेतीबाट वार्षिक ३० लाख रुपैयाँको आम्दानी

फाइल तस्वीर


समाचार सारांश

  • म्याग्दीका किसानहरूले व्यावसायिक तरकारी र फलफूल खेतीबाट वार्षिक ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
  • चन्द्रबहादुर कार्कीले नौ रोपनी जमिनमा बेमौसमी तरकारी उखेलेर वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।
  • किसानको सफलताले गाउँमा रोजगारी सिर्जना गरी आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पारेको उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्षले बताए।

४ चैत, म्याग्दी । म्याग्दीका किसानहरूले व्यावसायिक खेतीबाट वार्षिक ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। यहाँका किसानहरूले बेमौसमी तरकारी, फलफूल लगायत खेती गरेर वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।

जिल्लाको बेनी नगरपालिका–२ लभ्लीहिलका चन्द्रबहादुर कार्की, खबराका सोभित शर्मा, भकिम्लीका टेकबहादुर घर्ती, मरेकका इन्द्र थापा, बासकुनाका तिलक गुरुङ, मङ्गला गाउँपालिका–३ का सन्तनाथ सापकोटालगायत जिल्लाका थुप्रै किसानले तरकारी र फलफूल खेतीमार्फत गाउँमा समृद्धिको नयाँ इतिहास रचेका छन्।

बेनी–२ का कार्कीले नौ रोपनी जमिनमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताए। उनले धान फल्ने खेत र कोदो झुल्ने बारीभरि तरकारी र फलफूल खेती गरेको पनि उल्लेख गरे।

आफ्नो कमाइबाट बेनी बजार र गाउँमा घर बनाएको कार्कीले बताए। किसानको कठिनाइबीच मल, बीउ, पानी र बजारको समस्या समाधान गर्दै दिनरात मेहनत गर्ने उनले बारीमा साग, बन्दाकोबी, प्याज, लसुन, मुला, गाजर, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारी लगाएको जानकारी दिए।

६५ वर्षिया कार्कीलाई जहिले पनि खेतबारीको माटोसँग खेलिरहेको देख्न सकिन्छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविताका अंश ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल’ जस्तै उनको जीवन सिर्जनात्मक श्रमको प्रत्यक्ष उदाहरण बनेको बेनी नगरपालिका–२ का वडा अध्यक्ष यामबहादुर कार्कीले बताए।

कार्कीको सफलताले युवाहरूलाई विदेश जानुभन्दा गाउँमै बसेर मेहनत गर्न प्रेरणा दिएको स्थानीय कृषक तेजेन्द्र कार्कीले बताए, “कार्की दाइको पसिनाले माटोमा सुन फलाएको छ। उहाँको खेतबारी जापान, कोरिया वा अमेरिका जस्तै भएका छन्।”

पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमका अनुसार कार्कीको मिहिनेतले गाउँमा पैसाको प्रवाह बढाएको छ भने स्थानीय बजारमा तरकारी आपूर्ति सहज बनाएको छ। व्यापारीको कारोबार बढ्दा कतिपय युवाले गाउँमा रोजगारी पाउन थालेका छन्।

अध्यक्ष गौतमले भने, “जिल्लाका अधिकांश किसान अहिले तरकारी र फलफूलको व्यावसायिक खेती गरी मनग्ये आम्दानी गर्दै आएका छन्। सिजनमा सुन्तला बेचेर रु पाँच लाखदेखि रु ४० लाख आम्दानी गर्ने किसान पनि जिल्लामा छन्। तरकारी र फलफूलबाट विदेशको तुलनामा बढी कमाइ सम्भव हुने धेरै उदाहरण म्याग्दीमा देखिन्छन्।”

कार्कीले रासायनिक मल र विषादी नप्रयोग गरी शुद्ध, अर्ग्यानिक तरकारी उत्पादनमा प्राथमिकता दिएका छन्। यसले उपभोक्ताको विश्वास जितेको उनको भनाइ छ। बेनी बजारका व्यवसायी टीकाबहादुर पाण्डेले भने, “स्वास्थ्यप्रति सचेत उपभोक्ताले कार्की दाइको उत्पादनलाई प्राथमिकता दिन थालेका छन्।”

जिल्लाका किसानले तरकारी र फलफूल खेतीबाट पाएको सफलतालाई व्यक्तिगत मात्र नभई सामुदायिक समृद्धिको कथा पनि भएको बताउँछन्। यहाँका किसानको यो उदाहरणीय मिहिनेतले गाउँमा आर्थिक क्रियाकलाप चलायमान बनाउन, रोजगारी सिर्जना गर्न र समृद्धिका पक्षमा सकारात्मक सन्देश दिन उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताएका छन्।