Skip to main content

अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभाको पहिलो बैठक, प्रक्रिया के छ?

समाचार सारांश

  • निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते प्रमाणपत्र उपलब्ध गराउने र प्रतिनिधिसभाको पहिलो बैठक चैत १२ गते आयोजना गर्ने तयारी छ।
  • जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभाको अध्यक्षता गर्नेछन् र पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ।
  • पहिलो बैठकमा सर्वदलीय बैठक बसेर एजेन्डा निर्धारण गरिने, शुभकामना मन्तव्य राखिने र संसदीय समितिहरू गठन गर्ने प्रक्रिया सुरु गरिनेछ।

४ चैत, काठमाडौं । निर्वाचन परिणामसँगै संघीय संसद सचिवालय प्रतिनिधिसभाको बैठकको तयारीमा जुटेको छ।

राजनीतिक दलहरूका लागि कार्यालय व्यवस्थापन, नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण र आगामी सभाको सञ्चालक सम्बन्धमा संसद सचिवालयले आन्तरिक तयारी अघि बढाएको छ।

निर्वाचन आयोगले बिहीबार समानुपातिक सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्नेछ। प्रत्यक्ष निर्वाचित सांसदहरूले पहिले नै प्रमाणपत्र प्राप्त गरिसकेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित छन् भने समानुपातिक आधारमा ११० जना सांसद बन्न लागेको छ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ राजनीतिक दल राष्ट्रिय दल बनेका छन्। १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल हो। कांग्रेस ३८ सिटसहित दोस्रो, एमाले २५ सिटसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो दल भएका छन्।

यस निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं दलको रूपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दल हो। एक जना स्वतन्त्र उम्मेदवार पनि छन्।

बिहीबार मात्रै निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने योजना छ। यससँगै संघीय संसद सचिवालयलाई पनि जानकारी गराइनेछ।

संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन आयोगले चैत ५ गते निर्वाचन प्रतिवेदन उपलब्ध गराएपछि भोलिपल्ट शपथ ग्रहणको सूचना सार्वजनिक गरिन्छ।

“१२ गते शपथ ग्रहण गरिने तयारी छ। यस विषयमा राजनीतिक दलका प्रतिनिधिसँग छलफल पनि हुने छ,” गिरीले बताए।

नवनिर्वाचित सांसदहरूलाई जेष्ठ सदस्यले शपथ ग्रहण गराउनेछन्। जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिने प्रचलन छ।

निर्वाचन आयोगको विवरण अनुसार २७५मा सबैभन्दा जेष्ठ सदस्य अर्जुननरसिंह केसी हुन्, जो ७८ वर्षका छन्।

संविधानको धारा ८८ अनुसार संघीय संसद्को प्रत्येक सदनका सदस्यले पहिलो पटक बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने व्यवस्था छ। धारा ९१ को उपधारा ५ अनुसार सभामुख र उपसभामुख चयन नभए वा पद रिक्त भएमा बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्ने प्रावधान छ।

यसअन्तर्गत सभामुख चुनिनुअघि जेष्ठ सदस्य केसीले प्रतिनिधिसभाको अध्यक्षता गर्नेछन्।

पहिलो बैठकले सभामुख चयनको कार्यतालिका बनाउनेछ र सभामुख निर्वाचित भएपछि जेष्ठ सदस्यको यो जिम्मेवारी अन्त्य हुनेछ।

पहिलो बैठक कसरी सञ्चालन हुन्छ र के कस्ता एजेन्डाहरू रहनेछन्?

संसद सचिवालयका प्रवक्ता गिरीका अनुसार सबै दलका सदस्यको उपस्थितिमा सर्वदलीय बैठक बसेर पहिलो दिनको एजेन्डा निर्धारण गरिन्छ।

पहिलो बैठकमा अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने चलन पनि रहेको छ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि अन्तरिम सरकार बनेको थियो र २७ भदौमा प्रतिनिधिसभा विघटन भयो। नयाँ निर्वाचनपछि अहिले प्रतिनिधिसभाको बैठक बस्न लागेको हो।

यसबीचमा सरकार गठन र मन्त्रिपरिषद्का नयाँ सदस्यहरूको जानकारी प्रतिनिधिसभालाई दिइनेछ।

पहिलो बैठकमा सभा सञ्चालनका लागि अन्तरिम कार्यविधि पेस गरेर निर्णय लिने वा पुरानो नियमावली अनुसार जाने विषयमा प्रस्ताव पेश हुने छ।

सभामुख चयनको कार्यतालिका पनि प्रस्तुत गरिनेछ।

पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य व्यक्त गर्ने परम्परा छ।

साथै कुनै शोक प्रस्ताव भए प्रतिनिधिसभाले पारित गर्नेछ र त्यसपछि बैठक सकिनेछ।

दोस्रो बैठक सभामुख चयनका लागि वा अन्य कार्यसूचीमा बस्न सक्नेछ। त्यस्तैसँगै संसदीय विषयगत समिति गठन प्रक्रिया सुरु हुनेछ।

प्रतिनिधिसभामा १०वटा विषयगत समिति छन् जसमा दुई समिति संयुक्त समिति पनि रहेका छन्। कुन दलका सांसदले समितिमा रहने भन्ने तय भएपछि समितिको बैठक शुरू हुनेछ।

संसदीय समितिको गठन र सभापतिको निर्वाचन सभाबाटै तय हुन्छ।

नयाँ नियमावली बन्ने हो भने समितिको गठन प्रक्रिया त्यो पछि सुरु हुनेछ; पुरानै नियमअनुसार गए चाँडो समितिहरू गठन गर्न सकिन्छ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेसँगै संसदीय सुनुवाइ समितिको गठन गर्ने दबाब छ। यस समितिमा ६ जनाको नाम संवैधानिक परिषद्मा सिफारिस भइसकेको छ।

संवैधानिक परिषदको सिफारिसपछि संसदीय सुनुवाइ समिति गठन गरि प्रधानन्यायाधीश नियुक्ति अनुमोदन हुन्छ।

यी विषयहरूसँगै प्रतिनिधिसभाको पहिलो र पछि हुने बैठकका कार्यसूची तय गर्न संसद सचिवालयले सर्वदलीय बैठक राख्ने योजना बनाएको छ।