Skip to main content

केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार


४ चैत, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् ।

केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले भदौ २४ गते भागेकामध्ये एक हजार २०० जनाको हाराहारीमा कैदीबन्दी अझै फरार रहेको बताएका छन् ।

‘भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए, त्यही दिन तीन हजार ५१७ कैदीबन्दी भागे,’ सूचना अधिकारी रेग्मीले बताए, ‘तीमध्ये अधिकांश कैदीबन्दी फिर्ता भइसकेका छन् । करिब एक हजार २०० कैदीबन्दी अझै फर्कन बाँकी छन् ।’

हाल केन्द्रीय कारागारमा तीन हजार ३१३ कैदीबन्दी रहेका छन् । जसमध्ये एक हजार ९२० कैदी र एक हजार ४९३ थुनुवा रहेका छन् । केन्द्रीय कारागारमा एक हजार ७४९, भद्र जेलमा एक हजार २५० र महिला जेलमा ३१४ कैदीबन्दी रहेको सूचना अधिकारी रेग्मीले जानकारी दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारमा सामान्य क्षति भएको थियो । कारागारभित्र रहेका पाँचवटै भवन सुरक्षित भएकाले पुनः कैदीबन्दीलाई फर्काउन सहज भएको कारागार प्रशासनले जनाएको छ । –रासस