एक दिनका लागि सामान्य नागरिकलाई ‘राजा’ बनाउने पाटनको एकल घोडेजात्रा (तस्बिरहरू)

समाचार सारांश
सम्पादकीय समीक्षा पछि तयार गरिएको।
- पाटनको एकल घोडेजात्रा मल्लकालीन परम्पराअनुसार मुर्दा गुठीले सञ्चालन गर्दै आएको छ र यसमा एक दिनका लागि सामान्य नागरिकलाई राजा सम्मान दिइन्छ।
- घोडा चढ्न गुठीका सदस्यले आर्मी क्याम्पमा दुई–तीन हप्ताको तालिम लिनुपर्छ र यो जात्रा पाटन दरबारको मूलचोकबाट सुरु हुन्छ।
- पाटनको जात्रा सकिएपछि मात्र काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले भव्य रूपमा घोडेजात्रा सुरु गर्ने चलन संस्कृतिमा कायम छ।
४ चैत, काठमाडौं । काठमाडौंको टुँडिखेलमा घोडेजात्राको रौनक लागिरहेको बेला ललितपुरको पाटनमा एउटा फरक र विशेष परम्पराले निरन्तरता पाउँदैछ, त्यो हो ‘एकल घोडेजात्रा’ ।
काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले भव्य रूपमा घोडेजात्रा मनाइरहँदा, पाटनका गल्लीहरू र चोकहरूमा भने केवल एक मात्र घोडा दौडाएर यो जात्रा मनाइन्छ जसले मल्लकालीन इतिहास बोकेको छ।
पाटनको यो विशिष्ट जात्रा परम्परागत रूपमा ‘मुर्दा गुठी’ (जसलाई भीमसेन गुठी च्यो–खलः पनि भनिन्छ) ले सञ्चालन गर्दै आएको छ।
गुठीका सदस्य सन्तमान महर्जनका अनुसार यो जात्रा केवल घोडा दौडाउने पर्व मात्र होइन, यो एउटा सामान्य नागरिकलाई एक दिनका लागि ‘राजा’ को सम्मान दिने दुर्लभ सांस्कृतिक परम्परा हो।
नागले छाता ओढाएको त्यो नोकर, जो राजा बने
पाटनको एकल घोडेजात्राको सुरुवात रोचक किंवदन्तीसँग जोडिएको छ। नेवारी भाषामा ‘च्यो’ भन्नाले नोकरी वा कामदार बुझिन्छ। मल्लकालमा पाटन दरबारका राजाहरूको घोडाको स्याहार गर्ने जिम्मा यही च्यो–खलः (गुठी) का सदस्यहरूले लिएका थिए।
सन्तमान महर्जनले पुराना पुस्ताबाट सुनिदै आएको यो किंवदन्ती सुनाउँदै भन्छन्, ‘एकदिन दरबारको घोडा स्याहार गर्ने नोकर कामले थाकेर सुतिरहेको थियो। त्यही बेला मल्ल राजा त्यहाँ पुग्दा उनले अचम्मको दृश्य देखें। ती सुतिरहेका नोकरको शिरमाथि पाँच टाउको भएको नागले छाता ओढाइरहेको थियो।’
राजाको शिरमा बस्नुपर्ने नाग एउटा सामान्य नोकरको शिरमा देखिएपछि राजाले ती व्यक्ति ३२ लक्षणयुक्त भएको महसुस गरे। त्यसपछि राजाले औंसीको दिन (घोडेजात्राको दिन) आफ्नो शाही घोडा ती नोकरलाई चढ्न दिने र त्यस दिनका लागि उनलाई ‘राजा’ कै सम्मान दिने घोषणा गरे। त्यसै मल्लकालीन परम्पराको निरन्तरता स्वरूप आज पनि घोडेजात्राको दिन घोडा चढ्ने गुठियारलाई एक दिनको राजा मानेर जात्रा चलाइन्छ।

जो पाउँछ, त्यहीले मात्र घोडा चढ्छन्
पाटनको यो घोडा सबैले चढ्न पाउँदैनन्। यसका लागि भीमसेन गुठी च्यो–खलः का सदस्य हुन अनिवार्य छ। गुठियारहरूभित्रैबाट पालैपालो घोडा चढ्ने व्यक्ति छानिन्छ। अहिले यो अवसर ओल्खु च्यो–बाचा (चोछें टोल) का रमेश महर्जनले पाएका छन्।

घोडा चढ्नका लागि निवेदन गर्नु मात्र पुग्दैन, कडा तालिम पनि लिनुपर्छ।
‘तालिमविना घोडा चढ्दा दुर्घटना हुन सक्छ,’ सन्तमान भन्छन्, ‘त्यसैले घोडा चढ्नेले जात्राअघि पाटन दरबारको पछाडि रहेको आर्मी क्याम्प (क्याभलरी) मा गएर दुई–तीन हप्ताको विशेष तालिम लिनुपर्छ। नेपाली सेनाले पनि हाम्रो परम्परालाई सम्मान गर्दै सानदार तालिम र स्वागत गर्ने गरेको छ।’
जात्राको प्रक्रियाः
घोडेजात्राको दिन पाटन दरबारको मूलचोकबाट घोडालाई बाहिर निकालिन्छ। त्यसपछि मंगलबजारस्थित भीमसेन मन्दिरमा थोरै विश्राम गराइन्छ। त्यहाँबाट गुठीको टोल ओल्खु च्यो–बाचामा लगेर घोडालाई दानापानी खुवाएपछि मुख्य जात्रा सुरु हुन्छ।

ओल्खुबाट ल्वं–ह्र हुँदै भोलढोका गणेशथान पुगिन्छ। मल्ल राजाले स्थापना गरेको गणेशको सम्मान गर्दै सुरुमा त्यहाँ परिक्रमा गराइन्छ। त्यसपछि बालकुमारी मन्दिर पुर्याइन्छ।
बालकुमारीमा पनि पुरानो राजाको सम्मानस्वरूप परिक्रमा गराएपछि फेरि गणेशथानमै ल्याइन्छ। यसरी तीन पटक घुमाएर बालकुमारीको पछाडि ठड्याइएको लिङ्गोमा घोडालाई ढोग्न लगाइन्छ। अन्ततः घोडा ल्याउने व्यक्तिलाई पान–सुपारी दिएर विदा गरिन्छ र जात्रा सम्पन्न हुन्छ।

विकृतिमाथि विजय र ज्यापु समाजको साथ
पहिले यो ऐतिहासिक जात्रामा विकृतिहरू पनि देखिन्थे। घोडालाई लट्ठीले कुट्ने, पछाडिबाट घोच्ने र अनावश्यक पीडा दिने जस्ता अमानवीय व्यवहार तथा झगडा हुन थालेपछि जात्रा रोकिने अवस्था आए पनि, गुठियारहरूले आफ्नो इतिहास र संस्कृतिलाई बचाउन प्रहरी प्रशासनसामु गुहार गरेका थिए।
२०५१ साल भदौ २५ गते स्थापना भएको ‘ज्यापु समाज’ ले ठूलो सहयोग प्रदान गर्यो। अहिले ज्यापु समाजका युवा कमिटीहरू आफ्नै पोशाकमा खटेर जात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सहयोग गरिरहेका छन्।

पाटनको जात्रा सकिएपछि मात्र काठमाडौंमा सुरु हुन्छ
यो जात्राको अर्को रोचक पक्ष काठमाडौंको घोडेजात्रासँग जोडिएको छ। सन्तमान महर्जनका अनुसार पाटनको एकल घोडेजात्रा सम्पन्न नभएसम्म काठमाडौंमा घोडेजात्रा सुरु हुँदैन।
‘पाटनमा जात्रा सम्पन्न भयो भन्दै खबर काठमाडौं पठाएपछि मात्र त्यहाँ जात्रा सुरु गर्ने चलन हाम्रो संस्कृतिमा अहिलेसम्म कायम छ,’ उनी भन्छन्।
एक सामान्य कामदारलाई वर्षमा एकदिन मात्र राजा सम्मान दिने यो मल्लकालीन परम्पराले नेपाली संस्कृतिको उदारता र ऐतिहासिकता प्रस्तुत गर्छ। मुर्दा गुठी र स्थानीयहरू सक्रिय भएर यो एकल घोडेजात्रा पाटनका गल्लीहरूमा आज पनि गर्वका साथ चलिरहेको छ।







