अत्यधिक रक्तस्राव भएपछि संखुवासभाबाट एक सुत्केरी हेलिकप्टरमार्फत उद्धार

४ चैत, संखुवासभा । अत्यधिक रक्तस्राव भएका एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बुधबार (आज) मकालु गाउँपालिका–१ कि २८ वर्षीया सरु राईलाई अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो ।
सरुले आजै बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रियामार्फत शिशु जन्माएकी थिइन् । त्यसपछि अत्यधिक रक्तस्राव हुँदा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
उनलाई संखुवासभाबाट उद्धार गरेर काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा पठाइएको जिल्ला अस्पतालका प्रमुख सन्तोष देवले जानकारी दिनुभयो ।
संखुवासभाबाट यसै आर्थिक वर्ष २०८२/८३ मा एक दर्जन सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार भइसकेको छ ।






