Skip to main content

रोएलविरुद्ध आर्मीको ठूलो विजय

समाचार सारांश

AI‌ द्वारा उत्पन्न। सम्पादन समीक्षा गरिएको।

  • त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिगमा रोएललाई १०३-७५ को फराकिलो अन्तरले पराजित गरेको छ।
  • आर्मीले पाँच खेलबाट चार जितसहित शीर्ष स्थानमा रहेको छ भने रोएल पाँच खेलबाट चार हार भोगिरहेको छ।
  • एचजेएनबीएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र विजेताले नगद ४ लाख पुरस्कार पाउनेछन्।

४ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विभागीय टोली त्रिभुवन आर्मी क्लबले रोएललाई फराकिलो अन्तरले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बुधबार राति सम्पन्न खेलमा आर्मीले रोएललाई १०३-७५ को फराकिलो अन्तरले हराएको हो।

लिगमा आर्मीले पाँच खेल खेल्दा यो चौथो जित हो। ९ अंक जोडेको आर्मी स्पष्ट अग्रतासहित शीर्ष स्थानमा छ। रोएलको यो चौथो हार हो। रोएलले ५ खेलबाट ६ अंक जोडेको छ।

पहिलो क्वाटरमा आर्मीले २७-२० को अग्रता बनाएको थियो। दोस्रो क्वाटर २५-२५ को बराबरी हुँदा आर्मीले हाफटाइमसम्म ५२-४५ को अग्रता कायम राख्यो। त्यसपछि तेस्रो र चौथो क्वाटरमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै २५-१६ र २६-१४ को स्कोरले आफ्नो पक्षमा पारेर फराकिलो जीत हासिल गर्‍यो।

आर्मीले जारी एचजेएनबीएलमा दोस्रो पटक एक सय भन्दा बढी स्कोर गरेको हो। यसअघि पहिलो खेलमै आर्मीले हाउण्ड्सलाई १०४-७९ को स्कोरले पराजित गरेको थियो।

आर्मीको जितमा प्रज्वल महर्जनले सर्वाधिक २६ अंक स्कोर गरे भने नुकेश जुगजाली म्यान अफ दि म्याच घोषित भए।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

डबल राउण्ड रोविन आधारमा हुने लिगमा कुल ५६ खेल आयोजना गरिनेछ। लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत पहिलो र दोस्रो स्थानमा रहेका टोली बीच पहिलो क्वालिफायर हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ।

पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।

प्रतियोगिताको विजेताले नगद ४ लाख पुरस्कार पाउनेछन् भने उपविजेताले २ लाख र तेस्रो स्थानमा रहेकाले १ लाख हात पार्नेछन्। यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) लाई पनि आकर्षक पुरस्कार दिइने नेबाले जनाएको छ।

तस्बिर: एचजेएनबीएल