
समाचार सारांश
सम्पादकीय समीक्षा पश्चात तयार।
- अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीले इन्टर मियामीबाट खेल्दै ९०० गोल पुरा गरी विश्व फुटबलमा नयाँ इतिहास रचेका छन्।
- मेसीले कन्काकाफ च्याम्पियन्स कप अन्तर्गत न्यासभिल एससी विरुद्ध खेलको सातौँ मिनेटमै गोल गरि यो उपलब्धि हासिल गरेका हुन्।
- मेसीले बार्सिलोन, पेरिस सेन्ट-जर्मेन, अर्जेन्टिना राष्ट्रिय टोली र इन्टर मियामीबाट कुल ९०० गोल गरेका छन्।
५ चैत, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले आफ्नो करियरमा ९०० गोल पूरा गर्दै विश्व फुटबलमा नयाँ इतिहास रचेका छन् ।
इन्टर मियामीसँग खेल्दै उनले कन्काकाफ च्याम्पियन्स कप अन्तर्गत न्यासभिल एससी विरुद्ध खेलको सातौँ मिनेटमै गोल गर्दै यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेका हुन् ।
३८ वर्षका मेसी इतिहासमा दोस्रो खेलाडी बनेका छन् जसले ९०० गोल कोर्तिमान तोडेका छन्। यसअघि यो उपलब्धि क्रिस्टियानो रोनाल्डोले हासिल गरिसकेका छन् ।
मेसीले आफ्नो करियरमा बार्सिलोना, पेरिस सेन्ट-जर्मेन, अर्जेन्टिना राष्ट्रिय टोली र हाल इन्टर मियामीबाट गोल गरेका छन् ।
बार्सिलोनामा १७ वर्षमा उनले ६७२ गोल गरेका थिए भने कुल ७७८ खेल खेलेका थिए। यस क्रममा उनले १० ला लिगा, ४ च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए ।
पछि पेरिस सेन्ट-जर्मेनमा दुई सिजन बिताउँदा उनले ७५ खेलमा ३२ गोल गरेका थिए। त्यहाँ उनले नेयमार र किलियन एमबाप्पेसँग मिलेर आक्रामक ‘ट्रायो’ बनाएका थिए ।
सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएपछि मेसीले ९२ खेलमा ८१ गोल गरिसकेका छन् र टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
अन्तर्राष्ट्रिय तहमा मेसीले अर्जेन्टिनाका लागि १९६ खेलमा ११५ गोल गरेका छन् र टोलीलाई विश्वकप जिताएका छन् ।
तथ्यांक अनुसार मेसीका ९०० गोलमध्ये ७५५ गोल बायाँ खुट्टाबाट, १११ गोल दायाँ खुट्टाबाट, ३० हेडमार्फत र ४ अन्य तरिकाबाट आएका छन्। उनले ११२ पेनाल्टी र ७० फ्रि-किकबाट गोल गरेका छन् ।
मेसी र रोनाल्डो मात्र पुरुष फुटबल इतिहासमा ९०० गोल पुरा गर्ने खेलाडी हुन् । ब्राजिलका महान खेलाडी पेले र रोमारियो जस्ता खेलाडीहरू भने यो सूचीमा पछि रहेका छन् ।






