
५ चैत, काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैंको नवरात्र सुरु हुँदैछ । चैत्र नवरात्रको अवसरमा आज हनुमानढोका दरबारमा विधिपूर्वक घटस्थापना गरी नवदुर्गा देवीको पूजाआराधना गरिँदैछ।
चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७:५१ बजेको साइत उत्कृष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए। उनले आज उत्तरतर्फ फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि बताए।
यस अवसरमा देशभरका देवी मन्दिर र शक्तिपीठहरूमा पूजाआराधना एवं उपासनाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ। शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र मनाउने प्रचलन छ।
आसार शुक्ल पक्ष, असोज शुक्ल पक्ष, पुस शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाइन्छ। नेपाली परम्परामा, आसार र पुस शुक्ल पक्षका नवरात्रलाई लुप्त नवरात्र भनिन्छ।
-राससबाट






