Skip to main content

कैलालीमा श्रीमतीको हत्या गरी युवकले आफैंमाथि गोली चलाए


५ चैत, धनगढी। कैलालीमा एक युवकले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा करिब ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएको बेला २८ वर्षीया श्रीमती संजिता मगरलाई गोली हानी हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले विवादपछि रामबहादुरले आफूसँग भएको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेको जानकारी दिनुभयो ।

श्रीमतीको हत्या पछि उनले सोही बन्दुकबाट आफूलाई पनि गोली हानी घाइते बनाएका छन् । घाइते रामबहादुरको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

मृतक संजिताको शव घटनास्थलमै रहेको छ भने माइती पक्ष उपस्थित भएपछि शव उठाइने प्रहरीले बताएको छ । डीएसपी तिमिल्सिनाले यस घटनाको थप अनुसन्धान पनि सुरु गरिएको बताए।