
समाचार सारांश
- कांग्रेस सभापति गगन थापाले दिएको राजीनामा पराजित मानसिकताबाट नभएको उल्लेख गरेका छन्।
- थापाले राजीनामा पत्रमा नेतृत्वको कर्तव्यअनुसार लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु आफ्नो निर्णय भएको बताएका छन्।
- उनी पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग नभएको र आगामी दिनहरूमा देशका विभिन्न भागमा संवाद गर्ने योजना रहेको बताएका छन्।
५ चैत, काठमाडौं । कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामा पराजित मानसिकताको उपज नभएको बताएका छन्।
सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा आफूले राजीनामा दिनुको कारण बताएका छन् । ‘मेरो यो निर्णय कुनै पराजित मानसिकताको फलफूल होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने जिम्मेवारीबोधको अभिव्यक्ति हो,’ थापाको राजीनामा पत्रमा उल्लेख छ।
उनले आफ्नो जिम्मेवारी निर्वाह गर्दा वा कुनै निर्णय लिँदा देश, लोकतन्त्र र पार्टीको हितमा उचित ठानेका निर्णयहरू मात्र गरेको दाबी गरेका छन् । सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नरहेको पनि उल्लेख गरेका छन्।
‘आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन,’ उनले भनेका छन्, ‘आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरू तथा आम नागरिकसँग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु। नेपाली कांग्रेसको पुनर्निर्माण र सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जा साथ संलग्न रहनेछु।’
थापाले पार्टीका विभिन्न तहमा रहेका समर्थक तथा शुभेच्छुकहरूले पठाएका सन्देशहरूले ऊर्जा दिएको बताएका छन् । ‘ती सन्देशहरू केवल समर्थन मात्र होइनन्, ती भविष्यप्रतिको आशा र विश्वासका प्रतीक पनि हुन्। म प्रतिको त्यो विश्वासलाई अझै गहिरोसँग कायम राख्नुपर्छ भन्नेमा स्पष्ट छु,’ थापाको राजीनामा पत्रमा उल्लेख छ ।






