इरानी शासन व्यवस्था ‘स्थिर तर कमजोर’ : अमेरिकी गुप्तचर प्रमुख तुल्सी ग्याबर्ड

तस्बिर स्रोत, Getty Images
पढ्ने समय: ४ मिनेट
संयुक्त राज्य अमेरिकाको गुप्तचर निकायको नेतृत्व गर्ने वरिष्ठ अधिकारीले इरानी शासन व्यवस्था “स्थिर” रहेको तर “धेरै कमजोर” भइसकेको बताएका छन्।
अमेरिकी कङ्ग्रेसको एक संसदीय सुनुवाइमा न्याश्नल इंटेलिजन्सकी निर्देशक तुल्सी ग्याबर्ड र अन्य वरिष्ठ ट्रम्प प्रशासनका अधिकारीहरूले विश्वभरिका खतराहरू सम्बन्धमा विवरण दिएका थिए। उक्त सुनुवाइ बुधबार सम्पन्न भयो।
गत महिनाको अन्त्यतिर सुरु भएको युद्धपछि अमेरिकी अधिकारीहरूले गुप्तचर विषयमा सार्वजनिक रुपमा पहिलो पटक जानकारी दिएका हुन्। सुनुवाइ अघि प्रतिआतङ्कवाद सम्बन्धि अमेरिकी निकायकी प्रमुखले इरानबाट “यस समय तत्काल खतरा नभएको” बताउँदै राजीनामा दिएका थिए।
ग्याबर्डले भनिन्, अमेरिकाले ‘स्ट्रेट अफ होर्मुज’ मा समस्या आउने आशंका पहिले नै गरिसकेको थियो। उनले अमेरिकाको जासुसी गतिविधिहरूको संयोजन सम्हालिरहेकी छिन्।
“गुप्तचर समुदायले इरानको शासन व्यवस्था स्थिर रहेको तर नेतृत्त्व र सैन्य शक्तिमा चोइट भएका कारण अत्यन्त कमजोर भएको निष्कर्ष निकालेको छ,” उनले बताइन्।
ग्याबर्ड सीआईए, एफबीआई, न्याश्नल सेक्युरिटी एजेन्सी तथा डिफेन्स इंटेलिजन्सका प्रमुखहरूसँग संसदीय सुनुवाइमा उपस्थित थिइन्।
डेमोक्र्याटिक सिनेटर जोन ओसफले बारम्बार ग्याबर्डलाई सोधे कि के उनी अहिले इरानलाई अमेरिकाका लागि खतरा मान्छिन्। यद्यपि उनले सो प्रश्नको जवाफ दिन अस्वीकार गरिन्।
“अहिलेजस्तो खतरा हो वा होइन भन्ने निर्णय गर्न सक्ने एकमात्र व्यक्ति राष्ट्रपतिकै हुनुहुन्छ,” उनले भनिन्।
युद्ध सुरु भएदेखि नै रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीका सांसद र विश्लेषकहरूले किन अमेरिकाले इरानमाथि आक्रमण गर्यो र ट्रम्प प्रशासनले स्ट्रेट अफ होर्मुजमा समस्या आउन सक्ने चेतावनी पहिल्यै थाहा पाएको थियो कि भनेर प्रश्न उठाउँदै आएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु अस्त्र विकास गरेको र त्यसले अमेरिका तथा इजरेलमाथि खतराको कारण आक्रमण गरिएको दाबी गरेका छन्।
इरानबाट कस्तो खतरा?
मङ्गलबार राजीनामा दिएका न्याश्नल काउन्टरटेररिज्म सेन्टरका निर्देशक जो केन्टले भनेका छन् कि ट्रम्प प्रशासनले इजरायल र त्यस पक्षमा रहेको शक्तिशाली अमेरिकी लबीको दबावमा पर्नुपरेर युद्ध सुरु गरेको हो।
उनले सामाजिक सञ्जाल ‘एक्स’ मा आफ्नो राजीनामामा उल्लेख गरेका छन् कि इरानबाट अमेरिकाका लागि यस समयमा कुनै तत्काल खतरा छैन।
बुधवारको सुनुवाइमा सीआईएका निर्देशक जोन र्याट्क्लिफले यो मत अस्विकार गर्दै भने,
“मेरो विचारमा, इरान लामो समयदेखि संयुक्त राज्य अमेरिकाका लागि निरन्तर खतरा बनेको छ र अहिले पनि खतरा कायम छ।”
ग्याबर्डले अमेरिकी र इजरायली हमलाबाट इरानको सैन्य क्षमतामा “गहिरो क्षति” पुगेको बताइन्।
उनको भनाइ छ, “इरानले १२ दिनको युद्धमा परमाणु पूर्वाधारमा गम्भीर क्षति भोगेको थियो र तङ्ग्रिने प्रयास गरेको छ भने परमाणु उत्तरदायित्व स्वीकार्न अस्वीकार गरेको छ।”
अमेरिका र इजरायलले २०२५ जुनमा इरानमाथि १२ दिनसम्म आक्रमण गरेर परमाणु क्षमतामा क्षति पुर्याउन खोजेका थिए।
विरोधाभास?
सुनुवाइका लागि तयार गरिएको लिखित बयानमा ग्याबर्डले ती हमलाहरुले इरानको परमाणु कार्यक्रममा ठूलो ध्वस्तता ल्याएको र पुनर्निर्माण प्रयास नगरेको उल्लेख गरेकी थिइन्, तर उनले त्यो अंश पढेर प्रस्तुत गरिनन्।
डेमोक्र्याटिक सिनेटर मार्क वार्नरले सोध्दा ग्याबर्डले बयान लामो भएकाले केही भाग समेटेर मात्र भनेकी बताइन्।
वार्नरले सोधे, “त्यसो भए राष्ट्रपतिको तर्कसँग विरोधाभास हुने अंश तपाईंले हटाउनुभएको हो कि?” अर्थात, इरानले परमाणु अस्त्र विकास गरेको कारण सैन्य कारबाही गर्नु परेको भन्ने ट्रम्पको तर्क।
सांसदहरूले ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णयमा गुप्तचर अधिकारीहरूको कत्तिको संलग्नता थियो भनेर पनि सोधे। स्वतन्त्र सिनेटर एङ्गस किङले सोधेका थिए कि के ट्रम्पले अन्तिम निर्णय गर्दा गुप्तचर अधिकारीहरू पनि उपस्थित थिए?
र्याट्क्लिफले भने, आफूले राष्ट्रपतिसँग थुप्रै बैठक गरेका तर कुनै निर्णय एकै पटक कक्षभित्र गरिएको थाहा नभएको बताए।
किङले सोधे कि युद्धपछिका समयमा इरानले स्ट्रेट अफ होर्मुजमा आक्रमण गर्ने सम्भावना छ कि छैन भनेर ट्रम्पलाई गुप्तचर अधिकारीहरूले जानकारी दिएका थिए कि दिइएनन्?
युद्धपछि इरानले ति साँघुरा जलमार्गलाई लक्षित गरी तेल निर्यातमा बाधा पुर्याइरहेको छ।
र्याट्क्लिफले भने, “राष्ट्रपतिलाई निरन्तर गुप्तचर जानकारी दिने गरिन्छ।” उसका अनुसार उक्त क्षेत्रमा रहेका अमेरिकी ऊर्जा केन्द्रहरूमाथि इरानले आक्रमण गर्न सक्ने भएकाले पेन्टागनले सुरक्षा व्यवस्था कडा बनाएको थियो।
ग्याबर्डले बताएका छन् कि गुप्तचर निकायहरूले पहिले नै अनुमान लगाएको थिए कि इरान स्ट्रेट अफ होर्मुजलाई आफ्नो नियन्त्रणमा राख्न खोज्नेछ। त्यसै आधारमा अमेरिकी रक्षा मन्त्रालयले पूर्वसतर्कतासहित योजनाबद्ध सुरक्षात्मक कदम उठाएको छ।
हाम्रो यूट्यूब च्यानलमा पनि सार्वजनिक छ। सबै सामग्रीहरू दर्शाउन, च्यानल सदस्यता लिन कृपया यहाँ क्लिक गर्नुहोस्। साथै हामीलाई फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि अनुसरण गर्न सक्नुहुन्छ। त्यसैगरी, बीबीसी नेपाली सेवाको कार्यक्रम सोमबारदेखि शुक्रबार बेलुका पौने नौ बजे रेडियोमा सुन्न पाइन्छ।






