Skip to main content

चितवनमा रगतको भयंकर अभाव, रक्तदानका लागि रेडक्रसको आग्रह

समाचार सारांश

Generated by OK AI. Editorially reviewed.

  • चितवनमा रगतको अत्यधिक अभाव भएको छ र नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदान कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरेको छ।
  • जिल्लामा दैनिक करिब १५० युनिट रगतको माग हुँदा अभावले बिरामीको उपचार प्रभावित भएको छ।
  • भरतपुर प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको कमीका कारण बिरामीका आफन्त र स्वयंसेवीहरूले रगतको व्यवस्था गरिरहेका छन्।

५ चैत, चितवन। चितवनमा रगतको चरम अभाव देखा परेको छ। यसै कारण नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदान कार्यक्रमहरू सञ्चालन गर्न अपिल जारी गरेको छ।

शाखाका सभापति हरिप्रसाद पौडेलले जारी गरेको अपिलमा, जिल्लाका अस्पतालहरूमा उपचाररत बिरामीहरूको लागि रगत अभाव भइरहेको उल्लेख गर्दै रक्तदानमा सक्रिय भाग लिन आग्रह गरिएको छ। निर्वाचन पश्चात् रक्तदान कार्यक्रमहरू कम भएका कारण जिल्लामा रगतको अभाव देखिएको हो। हाल जिल्लामा दैनिक १५० युनिट रगत माग भइरहे पनि पूर्ति हुन सकेको छैन।

रक्तदान कार्यक्रमहरू न्यून हुँदा आवश्यक मात्रा अनुसार रगत उपलब्ध गराउन नसकिएको छ। शाखाले सञ्चालित भरतपुर प्रादेशिक रक्तसञ्चार केन्द्र र ठूला अस्पतालहरूमा बिरामीका आफन्त तथा स्वयंसेवीहरूले रक्तदान गर्दै आएका छन्। बाहिरबाट आएका बिरामीको उपचार रगत अभावले रोकिएको अवस्थामा छ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार हाल केन्द्रमा रगतको कमी हुँदा बिरामीका आफन्त र स्वयंसेवी रक्तदाताहरूको सहयोगमा रगतको माग पूर्ति गर्ने प्रयास जारी छ।

भरतपुरमा रहेका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पताल लगायत शल्यक्रिया हुने अस्पतालहरूमा रगतको अभाव हुँदा आकस्मिक रूपमा रगत उपलब्ध गराउन कठिनाइ भैरहेको छ। क्यान्सर रोगीहरूलाई विशेष गरी ठूलो मात्रामा रगत आवश्यक पर्छ।

त्यस्तै, सुत्केरी महिला र दुर्घटनामा घाइते भएका बिरामीहरूको शल्यक्रियामा समेत रगत आवश्यक पर्ने भएकाले लगातार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव सिर्जना भएको केन्द्र प्रमुख पौडेलले जानकारी दिए।