Skip to main content

पाकिस्तानमा ठूलो वर्षाका कारण १७ जनाको मृत्यु, ३० जना घाइते

समाचार सारांश

संपादकीय समीक्षा पश्चात् तयार।

  • पाकिस्तानको कराची शहरमा भारी वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु र ३० जना घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
  • बलदिया टाउनमा पर्खाल ढल्दा ११ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन्।
  • मेयर मुर्तजा वहाबले अत्यावश्यक बाहेक आवागमन रोक्नसमेत अनुरोध गर्दै यातायात र दैनिक जीवनमा वर्षाका कारण समस्या आएको बताए।

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीमा भारी वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु भएको साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

स्थानिय अधिकारी र उद्धार कर्मचारीहरूका अनुसार भारी वर्षाले शहरका पूर्वाधारलाई ठूलो क्षति पुर्‍याएपछि विभिन्न क्षेत्रहरूबाट धेरै मानिसको मृत्यु र घाइते हुने घटना रिपोर्ट गरिएको छ ।

देशको दक्षिणी सिन्ध प्रान्तको राजधानी कराचीको बलदिया टाउन क्षेत्रमा वर्षा सक्रिय हुँदा पर्खाल ढलेपछि ११ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् ।

कायद आबाद क्षेत्रमा घरको छत खसेर एक दम्पती र शहरका अन्य विभिन्न क्षेत्रहरूमा थप ६ जनाको मृत्यु भएको खबर छ ।

कराचीका मेयर मुर्तजा वहाबले शहरमा तीव्र हावा र भारी वर्षा भइरहेको जानकारी दिँदै बासिन्दालाई अनावश्यक आवागमनबाट बच्न आग्रह गरेका छन् ।

मेयरले वर्षाले शहरका धेरै भागहरूमा पानी जमेको र यातायात तथा दैनिक जीवनमा अवरोध आएको बताउँदै, त्यसका व्यवस्थापनका लागि टोलीहरू तोकिएको जानकारी दिए ।

सिन्धका मन्त्री नासिर हुसेन शाहले आँधीबेहरीपछि कराचीसहित सम्पूर्ण प्रान्तमा उच्च सतर्कता अपनाइएको घोषणा गरेका छन् ।

पाकिस्तान मौसम विभागले पश्चिमी मौसम प्रणालीको प्रभावले बिहीबारसम्म कराची र सिन्धका अन्य भागहरूमा भारी हावा, असिना, वर्षा र आँधीबेहरी पर्ने पूर्वानुमान गरिरहेको छ ।