Skip to main content

हिउँदे वर्षाले किसानमा उत्साह र खुसी

समाचार सङ्क्षेप

OK AI द्वारा तयार गरिएको। सम्पादकीय समीक्षा गरिएको।

  • भोजपुरमा लामो समयको खडेरीपछि परेको हिउँदे वर्षाले गहुँ, मकै, आलु र तरकारी बालीका किसानहरूलाई राहत र खुसी प्रदान गरेको छ।
  • खडेरीले सुक्दै गएको हिउँदे बाली वर्षातपछि फेरि हरियाली हुन थालेको र उत्पादनमा वृद्दि हुने अपेक्षा गरिएको छ।
  • सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसानहरूले वर्षाले माटोमा आवश्यक चिस्यान प्राप्त गरेको र बालीको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरेका छन्।

५ चैत, भोजपुर । लामो समयको खडेरीपछि परेको हिउँदे वर्षाले भोजपुरका किसानहरूमा उत्साह र खुसी ल्याएको छ । पानी नपरेको कारण बाली सुक्ने चिन्ता गरिरहेका किसानहरू वर्षासँगै राहत महसुस गर्न थालेका छन् ।

विशेषगरी गहुँ, मकै, आलु तथा विभिन्न तरकारी बालीका लागि यो वर्षा अत्यन्तै उपयोगी भएको टेम्केमैयुङ–५ का स्थानीय किसान अडिबहादुर विष्टले बताएका छन् । खडेरीका कारण हिउँदे बाली सुक्दै गएको अवस्थाबाट वर्षा भएपछि किसानहरूमा नयाँ आशा जागेको उनले बताए।

‘लामो समयको खडेरीका कारण हिउँदे बाली सुक्ने अवस्थामा पुगेको थियो,’ उनले भने, ‘वर्षा भएपछि हामी किसानहरू निकै खुसी भएका छौं । अब बाली राम्रोसंग फस्टाउने आशा गरिएको छ ।’

खेतबारीमा चिस्यानको अभावले ओइलिएका बालीहरू वर्षा पछि पुनः हरियाली हुन थालेका छन् । यसले उत्पादनमा वृद्धि हुने अपेक्षा किसानहरू गरेका छन्। सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसानहरूका लागि यस वर्षाले थप राहत दिएको छ।

स्थानीय किसानहरूको अनुसार वर्षाअघि माटो अत्यधिक सुक्खा हुँदा बालीको वृद्धि प्रक्रिया प्रभावित भएको थियो।

तर, वर्षाले माटोमा आवश्यक चिस्यान प्रदान गरेपछि बालीको वृद्धि पुनः सक्रिय भएको छ। यसले उत्पादन मात्र होइन बालीको गुणस्तरमा समेत सुधार आउने विश्वास किसानहरूले व्यक्त गरेका छन्। मकै छर्ने सिजनमा पानी परेकोले किसानहरूलाई थप सहजता भएको छ।