Skip to main content

टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

समाचार संक्षेप

  • मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा स्कुटरलाई टिपरले ठक्कर दिँदा १७ वर्षीय मौसम काफ्लेको मृत्यु भएको छ।
  • दुर्घटनामा स्कुटर चालक १६ वर्षीय अनुप चापागाईं गम्भीर घाइते भएका छन् र विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
  • प्रहरीले टिपर चालक ५७ वर्षीय शिवनारायण खंगलाई नियन्त्रणमा लिएको छ।

५ चैत, विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा स्कुटरलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको बाँसबारीमा बिहान १०:३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको बालुवा बोकेको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार सुन्दरहरैँचा–४ का १७ वर्षीय मौसम काफ्ले गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषित गरे ।

दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–५ का १६ वर्षीय अनुप चापागाईं पनि गम्भीर घाइते भएका छन् । उनको अहिले विराट शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

प्रहरीले दुर्घटनामा संलग्न टिपर र त्यसका चालक सप्तरीको तिरहुत गाउँपालिका–२ का ५७ वर्षीय शिवनारायण खंगलाई नियन्त्रणमा लिएको छ ।