Skip to main content

इरानमा तनावपछि चीनले ऊर्जा संकट कसरी व्यवस्थापन गरिरहेको छ?


५ चैत, काठमाडौं। चीन लामो समयदेखि सम्भावित तेल संकटको सामना गर्न तयारी गर्दै आएको थियो। पश्चिम एसियामा जारी युद्धले सिर्जना गरेको ऊर्जा संकटले चीनको तयारीलाई परीक्षा दिएको छ।

इरानले स्ट्रेट अफ होर्मुजबाट गुज्रने जहाजहरूमाथि आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वबाट आपूर्ति हुँदै आएको ऊर्जा अवरुद्ध भएको छ। यो नाकाबन्दी अमेरिका र इजरायलका आक्रमणहरूका जवाफमा इरानले लगाएको हो।

यस नाकाबन्दीले विश्वव्यापी तेल आपूर्तिमा अवरोध ल्याएको छ, जसले खाडी राष्ट्रमा निर्भर एसियाली देशहरूलाई गम्भीर असर पुर्याएको छ।

इन्धन बचतका लागि फिलिपिन्सले हप्तामा चार दिन मात्र काम गर्ने प्रणाली लागू गरेको छ भने इन्डोनेसियाले सीमित इन्धन भण्डार छिट्टै सकिन नदिन उपाय खोजिरहेको छ।

यी परिस्थितिमा विश्वकै सबैभन्दा ठूलो तेल आयातकर्ता चीनले पनि दबाब महसुस गरिरहेको छ। तर चीनको अवस्था छिमेकी देशहरूभन्दा केही राम्रो छ किनभने उसले वर्षौंदेखि अंगिकार गरेको नीतिमार्फत कुनै पनि सम्भावित ऊर्जा संकटका लागि तयारी राखेको छ।

परीक्षाको घडीमा चीन

ऊर्जा संकटले विश्व अर्थतन्त्रमा अस्थिरता सिर्जना गर्दै तेलको मूल्य बारम्बार बढेर प्रत्येक बैरलको मूल्य १२० डलरसम्म पुगेको छ। ढुवानी र ऊर्जा पूर्वाधारमाथि आक्रमणहरू भइरहेका छन्।

इरानले विश्वकै व्यस्ततम तेल मार्ग स्ट्रेट अफ होर्मुजलाई बन्द गरेपछि यस्तो अवस्था बनेको हो। अमेरिकी ऊर्जा सूचना प्रशासन (EIA) का अनुसार विश्व तेल आपूर्तिको करिब २० प्रतिशत भाग यो मार्गबाट जान्छ।

आपूर्ति अवरुद्ध भएपछि देशहरूले खाडी क्षेत्रबाहेक कच्चा तेलका वैकल्पिक आपूर्तिकर्ता खोजिरहेका छन् भने कतिपयले आफ्ना भण्डारणमा रहेका तेल प्रयोग गरिरहेका छन्।

विश्लेषकहरूले जनाएअनुसार अमेरिकापछि विश्वकै दोस्रो ठूलो तेल उपभोक्ता चीनले दैनिक करिब १.५ देखि १.६ करोड ब्यारेल तेल उपभोग गर्छ। चीनको विशाल यातायात सञ्जालका कार, ट्रक, र विमानमा यही तेल प्रयोग हुन्छ। अधिकांश तेल चीन विदेशी मुलुकहरूबाट आयात गर्छ। EIA का अनुसार चीनका मुख्य तेल आपूर्तिकर्ता खाडी राष्ट्रहरू हुन्। साउदी अरब र इरानबाट आउने तेल चीनको कुल आयातमा १० प्रतिशतभन्दा बढी हिस्सामा पर्छ।

इरान र मध्यपूर्वबाट दक्षिण चीन सागर हुँदै आउने कच्चा तेल कारखाना तथा यातायात इन्धनको रूपमा प्रयोग हुन्छ, जुन चीनको दक्षिणी भागमा बढी खपत हुन्छ।

चीनको उत्तरी भाग मुख्यतया आन्तरिक उत्पादन र रुसी पाइपलाइनमार्फत आउने तेलले आपूर्ति गर्दछ, त्यसैले मध्यपूर्वको युद्धको असर उत्तरी भागको आपूर्तिमा देखिएको छैन।

यूएस र युरोपका प्रतिबन्धका बाबजुद पनि रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्तामध्ये एक हो। साथै कोइला पनि चीनको विद्युत उत्पादनको मुख्य स्रोत हो र यो देशमा विस्तृत मात्रामा उपलब्ध छ।

चीन विश्वकै सबैभन्दा ठूलो कोइला उत्पादक राष्ट्र हो र विश्व उत्पादनको आधाभन्दा बढी कोइला उत्पादन उसकै नियन्त्रणमा छ।

चीनको कुल ऊर्जा मिश्रणमा तेल र ग्यासको हिस्सा एक चौथाईभन्दा अलि बढी छ, जसले यसलाई युरोप र अमेरिका भन्दा यी स्रोतहरूमा कम निर्भर बनाउँछ।

कठिन समयका लागि पूर्वतयारी

स्याक्सो बैंकका कमोडिटी स्ट्र्याटेजी प्रमुख ओले हेन्सनका अनुसार चीनले विगतमा कच्चा तेलको सस्तो मूल्य र खाडी देशहरूबाट प्रचुर आपूर्तिको फाइदा उठाएर विश्वकै सबैभन्दा ठूलो तेल भण्डार तयार गरेको छ।

चीनको भन्सार तथ्यांक अनुसार यस वर्ष जनवरी र फेब्रुअरी महिनामा मात्रै बेइजिङले गत वर्षको तुलनामा १६ प्रतिशत बढी कच्चा तेल खरिद गरेको छ।

चीनका लागि इरान सस्तो कच्चा तेलको महत्वपूर्ण आपूर्तिकर्ता हो। विभिन्न रिपोर्टहरू अनुसार चीनले इरानको कुल तेल निर्यातको ८० प्रतिशतभन्दा बढी भाग खरिद गर्दछ।

पछिल्लो युद्ध सुरु भएयता जहाजहरूको ट्र्याकिङ तथ्यांकले देखाउँछ कि उक्त तेलको केही हिस्सा अझै चीनसम्म आइपुगिरहेको छ। तर चीनको कुल तेल भण्डारको आकारबारे विश्लेषकहरुबीच मतभेद छ।

ट्रेड एनालिटिक्स समूह केप्लरका अनुसार दक्षिण चीन सागरमा ट्यांकरहरूमा ४.६ करोड ब्यारेलभन्दा बढी इरानी कच्चा तेल रहेको छ, जुन धेरै महिनाको ऊर्जा आपूर्तिका लागि पर्याप्त छ।

हेन्सनको अनुसार चीनले करिब ९० करोड ब्यारेल तेल भण्डारण गरेको छ, जुन लगभग तीन महिनाको आयात बराबर हो।

चिनियाँ सरकारी सञ्चारमाध्यमले कोलम्बिया विश्वविद्यालयको तथ्यांक उद्धृत गर्दै चीनसँग करिब १.४ अर्ब ब्यारेल पेट्रोलको भण्डार रहेको बताएका छन्।

यस्तो विशाल भण्डारले कुनै पनि संकटको समयमा चीनलाई एक ‘बलियो सुरक्षा कवच’ उपलब्ध गराउँछ। तर बेइजिङले निकट भविष्यमा आपूर्ति व्यवस्थापनमा सतर्कता अपनाउने संकेत पनि गरेको छ।

चिनियाँ अधिकारीहरूले घरेलु मूल्य नियन्त्रण गर्न तेल रिफाइनरीहरूलाई हाल इन्धन निर्यात रोक्न निर्देशन दिएका छन्। यस विषयमा चीन सरकारले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

आत्मनिर्भरता तर्फ चीनको खोजी

चीन विश्वकै अग्रणी स्वच्छ ऊर्जा राष्ट्रहरू मध्येको एक हो र देशभर तीव्र गतिमा वायु तथा सौर्य ऊर्जा आयोजना विकास गरिरहेको छ।

सन् २०२४ मा मात्र विउँ, सौर्य र जलविद्युतबाट चीनले कुल बिजुली उत्पादनको एक तिहाइभन्दा बढी हिस्सा उत्पादन गरेको थियो। यस प्रगतिले चीनको कुल ऊर्जा खपतमा कच्चा तेलको हिस्सा २० प्रतिशतमा झरेको छ। साथै नवीकरणीय ऊर्जा नेटवर्कलाई अझै विस्तार गरिएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार चीनमा भविष्यमामा तेलको मागमा ठूलो वृद्धिको सम्भावना छैन।

ऊर्जा अर्थशास्त्री रोजर फुकेका अनुसार नवीकरणीय ऊर्जामा चीनको महत्त्वाकांक्षी परिवर्तनले वातावरण मात्र होइन, विश्वभरि फैलिएको जोखिमबाट अर्थतन्त्रलाई पनि जोगाउन मद्दत पुर्‍याएको छ।

“चीन केही हदसम्म भाग्यमानी हो। उसले २५ वर्षअघि नै नवीकरणीय ऊर्जामा लगानी सुरु गरेको थियो र अहिले यसको फाइदा उठाइरहेको छ,” फुकेले भने।

सिड्नी विश्वविद्यालयका रोक सीले बताए अनुसार, चीनमा बिक्री हुने नयाँ कारहरूको कम्तीमा एक तिहाइ विद्युतीय छन्, जसले तेलमाथिको निर्भरता कम गर्न सहयोग गरिरहेका छन्। उनी भन्छन्, “यसको अर्थ चीनमा विद्युतीय सवारी चलाउनेहरू मध्यपूर्व तनावका कारण पेट्रोल मूल्य वृद्धिबाट खासै प्रभावित हुँदैनन्। उनीहरू अन्तर्राष्ट्रिय तेल बजारबाट अलग भइसकेका छन्।”

यद्यपि चिनियाँ अर्थतन्त्रलाई पूर्ण रूपमा तेल आपूर्ति संकटबाट सुरक्षित मान्न सकिन्न। ऊर्जा संकटले इन्धन मूल्य वृद्धिका साथै विद्युतीय सवारी साधनहरूको चार्जिङ लागत पनि बढ्न सक्ने विशेषज्ञहरूले बताएका छन्। – बीबीसी हिन्दीबाट