आगामी तीन दिन तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह

समाचार सारांश
OK AI द्वारा निर्मित। सम्पादकीय समीक्षा गरिएको।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसममा आएको परिवर्तनसँगै देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपात हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ।
- प्राधिकरणले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात, साथै लुम्बिनी र पूर्वी प्रदेशका तराई क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना छ भनेर जानकारी दिएको छ।
- रोकथामका लागि प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन, घरका झ्यालढोका बन्द राख्न र जोखिमयुक्त स्थानमा नबस्न अनुरोध गरेको छ।
५ चैत, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम परिवर्तनसँगै आगामी दिनहरुमा देशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरी, वर्षा र हिमपात हुने सम्भावना रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ।
प्राधिकरणले बिहीबार जारी गरेको विज्ञप्तिमा आगामी तीन दिनको मौसम पूर्वानुमान सहित यस्तो अपिल गरेको हो।
प्राधिकरणका अनुसार, शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
त्यस्तै, शुक्रबारदेखि नै दाङ, नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरुमा र पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरुमा तीव्र हावाहुरी (करिब ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना प्राधिकरणले जनाएको छ।
प्रि-मनसुनको अवधिमा तीव्र हावाहुरीले रुखहरु ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम पनि रहेको छ।
पछिल्ला दिनहरुमा हावाहुरीका कारण व्यक्तिहरु घाइते एवं मृत्यु भएका घटनाहरुको घटनाक्रमलाई ध्यानमा राख्दै प्राधिकरणले जोखिमपूर्ण क्षेत्रमा बस्ने र यात्रा गर्ने सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी अनावश्यक यात्राबाट बचेको, हावाहुरीका बेला घरका झ्यालढोका राम्ररी बन्द गर्ने, आगोका स्रोतहरु बन्द गर्ने, सवारीसाधन छेउमा रोक्ने र सुरक्षित स्थानमा बस्ने, भिडभाडमा नथपक्किने, भागदौड नगरी शान्तिपूर्ण रुपमा सुरक्षित ठाउँमा जाने सुझाव दिइएको छ।
त्यसै गरी, हावाहुरी गएको बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तार मुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने संपर्क नगर्न, सो समयमा विद्युतीय उपकरण सञ्चालन नगर्न, जोखिमयुक्त स्थानमा नबस्न समेत प्राधिकरणले अनुरोध गरेको छ।
हेर्नुहोस् विज्ञप्ति :







