
समाचार सारांश
- जनकपुरधामको सिक्स लेन सडकमा टिपरले गिट्टी छर्नाले सवारी आवागमनमा समस्या उत्पन्न भएको छ।
- फागुन ११ गते जनकपुरमा टिपरको ठक्करले ट्राफिक प्रहरी जवान चन्द्रकला महतोको मृत्यु भएको थियो।
- धनुषा प्रहरीले आर्थिक वर्ष २०८२/०८३ मा टिपरमाथि कारबाही कम भएको र जेनजी आन्दोलनले असर पु¥याएको जनाएको छ।
५ चैत, जनकपुरधाम । जनकपुरधामको पीडारी चोकस्थित सिक्स लेन सडकमा बिहीबार बिहान भरभरि गिट्टी छरिएको थियो । करिब १०० मिटर क्षेत्रसम्म तीन लेनमा फैलिएको गिट्टीका कारण सर्वसाधारण र सवारी साधनहरूको आवागमनमा कठिनाइ देखिएको थियो।
एक पैदल यात्रीले भने, ‘ट्राफिक प्रहरीले टिपर चालकसँग गरिरहेको सेटिङको परिणाम यही हो। टिपरले जे गरे पनि हुन्छ र उनीहरूलाई कानुनले छोएन।’
अन्य दिनको तुलनामा दिउँसो ट्राफिक प्रहरीले स्वयं सो गिट्टी सफा गरेको थियो।
जनकपुरमा टिपरले मान्छेलाई ठक्कर दिने र ओभरलोड गरेर सडकमा गिट्टी-बालुवा छर्ने घटना सामान्य बन्न पुगेको छ। गत पुस ३० र फागुन ११ का दुर्घटनाहरू त्यसका प्रमाण हुन्, जसमा सर्वसाधारणदेखि ट्राफिक प्रहरीसम्मले टिपरको सिकार हुनुपरेको छ।
फागुन ११ गते दिउँसो जनकपुर विश्वकर्मा चोकमा तीव्र गतिमा दौडिरहेको टिपरले पछाडिबाट ठक्कर दिँदा ट्राफिक प्रहरी जवान चन्द्रकला महतो घटनास्थलमै निधन भइन्। महतो २६ वर्षीया थिइन् र महोत्तरी बर्दिबासस्थित ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिइन्। उनी कामका लागि प्रदेश प्रहरी कार्यालय आएकी थिइन्।
प्रहरीका अनुसार, प्रहरी निरीक्षक विजयकुमार यादवले चलाएको प्रदेश २-०२,००२ प ७३५२ नम्बरको मोटरसाइकलमा उनी पछाडि सवार थिइन्। जिरोमाइलतर्फ जाँदै गर्दा प्रदेश २–०३,००१ क ०१०४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो। उक्त दुर्घटनामा निरीक्षक यादव सामान्य घाइते भएका थिए।

पहिले पनि पुस ३० गते जनकपुरको व्यस्त बजार क्षेत्रमा दुई फरक घटनामा तीव्र गतिमा रहेका टिपरले पछि ठक्कर दिएका थिए। मिल्स एरियामा ना८ख ८२५७ नम्बरको टिपरले ठक्कर दिँदा ज७प २८३७ नम्बरको मोटरसाइकल चालक करिब ४५ वर्षका पुरुष घटनास्थलमै मृत भएका थिए।
त्यस्तै दिन बिहान प्रदेश २-००३१ क ०७७५ नम्बरको टिपरको ठक्करबाट मिथिला विहारी नगरपालिका-७ का २७ वर्षीया नितु साह गम्भीर घाइते भएकी थिइन्।
टिपरको लापरबाही बढ्दै गएको छ भने ट्राफिक प्रहरी सकृय नभएकाले स्थानीयहरु गुनासो गर्ने गरेका छन्। ओभरलोड गर्ने, बालुवा उडाउने र पानी चुहाउने प्रवृत्ति पुरानै भए पनि सिक्स लेन सडकमा ओभरलोड टिपरबाट चुहिने बालुवाले मोटरसाइकल, साइकल चालक तथा पैदल यात्रीहरूलाई प्रभावित पार्दै आएको छ। यसले लुगा फोहोर हुने मात्र होइन आँखामा पर्दा दुर्घटना सम्भावना बढाएको छ।
दैनिक साइकल चलाएर यात्रा गर्ने महोत्तरी पिपरा गाउँपालिका-१ का जयनाथ झाले धुलो र बालुवाका कारण स्वास्थ्यमा असर परेको गुनासो गरे।
‘टिपर र ट्याक्टरले ओभरलोड बालुवा–गिट्टी बोक्छन्, तर राम्रोसँग छोपिँदैन। उडेर आँखामा पर्दछ, जिउभरि धुलो पनि लाग्छ,’ उनले भने, ‘श्वास प्रश्वासमा समेत असर गर्छ। यहाँ सबैले सुरक्षित रूपमा हिँड्न पाउनुपर्छ।’ अधिकांश यात्रुहरूको यही गुनासो छ।
टिपर र ट्याक्टरले ओभरलोड गर्दा सडकका केही लेनहरू पूर्ण रूपमा बालुवा र गिट्टीले छोपिएको छ जसमा समय–समयमा दुर्घटना हुने गरेको देखिन्छ। तर कसैलाई समेत नियन्त्रण गर्ने आवाज सुनिदैन।
ढल्केवरतर्फबाट अभरलोड गरेर आउने टिपरहरू आधा दर्जन ट्राफिक प्रहरी चेकपोस्ट पार गरेर जनकपुरधाम बजारसम्म पुग्छन्। मोटरसाइकल चेक गर्दा प्रहरीहरूको ध्यान अभरलोड ट्राफिकमा नपर्ने बुझिएको छ। प्रहरीले टिपरको दुष्प्रवृत्ति नदेखेका तर सेटिङको आशय रहेको स्रोत बताउँछन्।
‘टिपर र ट्याक्टरका मालिकसँग ट्राफिक प्रहरीले मासिक रकम सेटिङ गर्छ,’ एक ट्राफिक प्रहरीले भने, ‘त्यसैले जे अभरलोड गरे पनि फरक पर्दैन। कहिले काहीँ नाम मात्रको कारबाही हुन्छ। सबै चालकहरूको नम्बर ट्राफिकसँग छन्।’

एक टिपर सञ्चालकले पनि ट्राफिक प्रहरीले मासिक रूपमा रकम लिने गरेको जानकारी दिए।
टिपर चालकहरू भने उपभोक्ताको माग अनुरूप अभरलोड गिट्टी-बालुवा बोक्ने दाबी गर्छन्। ‘उपभोक्ताले बढी सामान ल्याउन भन्छन्। कम ल्याउँदा सामान लिँदैनन्। त्यसैले अभरलोड हुनुपर्छ,’ मुजेलियाको ट्राफिक प्रहरी कार्यालय अगाडि भेटिएका टिपर चालकले सुनाए।
धनुषा महेन्द्रनगर घर भएका अर्को टिपर चालक श्याम यादवले क्रसरमा लाइन लागेर बालुवा लिँदा पानी चुहिने समस्या सुनाए।
‘लाइन लागेर बालुवा लिनुपर्छ। लोड गरेको १० घण्टा छाडे पनि पानी चुहिन बन्द हुँदैन। त्यसैले सबैमा समस्या छ,’ उनले भने।
टिपरको आतंक बढिरहेको छ भने कारबाही संख्या घटदो हुँदा ट्राफिक प्रहरीमाथि शंका पनि बढिरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को (साउनदेखि माघसम्म) सात महिनामा १५३८ वटा टिपर, ट्याक्टर र ट्रकलाई कारबाही गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा मात्र ४८५६ वटा कारबाही गरिएको थियो। यसले टिपरविरुद्ध कारबाही कम भएको देखाउँछ।
धनुषाका प्रहरी प्रमुख सूर्यबहादुर साही भने जेनजी आन्दोलनको कारण विगत जस्तो कारबाही गर्न नसकेका बताउँछन्।
‘जेनजी आन्दोलनका कारण ३–४ महिना कारबाही प्रभावित भयो। त्यसैले संख्या घटेको हो,’ उनले भने, ‘तर हामी टिपरको बदमाशी घटाउन प्रयासरत छौं।’
उनले भने, ‘बेलाबेला टिपर चालक र साहुसँग संवाद गर्छौं, जागरुकता कार्यक्रम पनि गरिन्छ। रोकी हटाउने कार्य पनि भइरहेको छ। अझै पनि प्रयास गरिरहेका छौं।’
धनुषाका अर्को प्रहरी प्रमुख रुगमबहादुर कुँवरका अनुसार पछिल्लो २–३ घटनाका कारण दिउँसो जनकपुरधाम बजार क्षेत्रमा टिपर प्रवेशमा रोक लगाइएको छ।






