
राष्ट्रिय लिग फुटबल र एन्फा महिला लिगलाई एउटै दिन स्थगित गर्न बाध्य बनाउने कारण अध्यागमन विभागको एउटा पत्र नै थियो ।
समाचार सारांश
संपादकीय समीक्षा पश्चात तयार पारिएको।
- अध्यागमन विभागले पर्यटक भिसामा रहेका विदेशी खेलाडीहरूलाई राष्ट्रिय फुटबल लिगमा सहभागी हुन नदिइने गरी अखिल नेपाल फुटबल संघलाई पत्र पठाएको छ।
- एन्फाले अध्यागमन विभागको पत्र प्राप्त भएपछि राष्ट्रिय पुरुष र महिला लिगका खेलहरू प्राविधिक कारणले स्थगित गरेको छ।
- राष्ट्रिय खेलकुद परिषद्ले चैत १३ गते आयोजना गर्ने भनिएको एन्फाको साधारण सभा र निर्वाचन स्थगित गरेको जानकारी दिएको छ।
५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाई बहुमत ल्याएर सरकार स्थापनाको विषयमा धेरैको ध्यान जादै गर्दा बिहीबार नेपाली फुटबल विषयले माहोल तताएको थियो ।
फुटबलसँग सम्बन्धित विवादहरूमा पत्र पठाउने, निर्देशन दिने देखि राष्ट्रिय उमेर समूह टोलीलाई बिदाइ गर्ने काम एउटै दिन भयो ।
गत पुस ३० गतेदेखि सुरु भएको राष्ट्रिय पुरुष लिग र चैत ४ गतेदेखि सुरु भएको शहीद स्मारक महिला लिगका खेलहरू बिहीबारबाट स्थगित भएका छन् ।
अध्यागमन विभागले पर्यटक भिसामा रहेका विदेशी खेलाडीहरू सहभागी नहुन एन्फालाई पत्र काटेको थियो र त्यसपछि एन्फाले यी लिगहरू स्थगित गरेको हो ।
एन्फाको ए डिभिजन लिग गर्ने निर्णय विरुद्ध डिभिजन क्लबहरूले एन्फा कम्प्लेक्स बाहिर चार दिनसम्म रिले अनशन बसेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले चैत १३ गते गर्ने भनिएको एन्फा साधारण सभा र निर्वाचन स्थगित गरिएको पत्र एन्फालाई बिहीबारै पठाएको छ ।
एन्फाले माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिप खेल्न जाने नेपाली यू-२० पुरुष टोलीलाई बिहीबार होटलमा कार्यक्रम राखेर बिदाइ गरेको थियो ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहतालाई भेट्न त्रिपुरेश्वरस्थित राखेप कार्यालय पनि पुगेका थिए ।
दिनभर फुटबल विषयमा निकै चर्चा भयो तर परिणाम त्यति सकारात्मक रहेन । लिग स्थगित हुँदा खेलाडीहरूले खेल्ने अवसर गुमाउने खतरा छ ।
‘साँढेको लडाईंमा बाछाको चिर्नु’ भन्ने जस्तै नेतृत्वमा रहेका व्यक्तिहरूको कार्यक्षमता नहुँदा खेलाडीहरू नै पिडित हुन्छन् ।
तर एन्फा भने चैत १३ गते भित्रै निर्वाचन गर्ने तयारीमा अघि बढीरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभागीय टिम त्रिभुवन आर्मी एफसी र सातदोबाटो युथ क्लब राष्ट्रिय लिगको म्याच नम्बर ९९ मा प्रतिष्पर्धा गरिरहेको थियो। त्यही बेला एन्फाले म्याच नम्बर ९७ र १०० देखि १३६ सम्मका खेलहरू प्राविधिक कारणले स्थगित गरिएको र सहभागी १७ वटा क्लबहरूलाई पत्र पठाइएको जानकारी गराएको थियो।
बिहीबार बिहान कास्कीको लगिगुराँस एसोसिएसन क्लबले चित्लाङ एफसीलाई १-० ले हराउँदै शीर्ष स्थानमा उक्लेको थियो । अपराजित लालिगुराँस १३ खेलमा २४ अंकसहित शीर्ष छ ।
आर्मी पनि १-० को जितसहित २६ अंक जोडेर दोस्रो स्थानमा पुगेको थियो ।
साथै शीर्ष तीनमा रहेका मछिन्द्र एफसी र एपीएफ पनि जित लिएर शीर्ष स्थानमा पुग्ने लक्ष्यमा थिए । दुवै टिमको २५ अंक थियो र जित्ने टिमको २८ अंक हुने थियो ।
तर एपीएफ र मछिन्द्र बीचको खेल हुन सकेन । अब लिग पुनः सुरु नभएसम्म लालिगुराँस र आर्मी क्रमशः पहिलो र दोस्रो स्थानमै रहनेछन् ।
***
एन्फाले पहिलो पटक महिला फुटबल शहीद स्मारक महिला लिग बुधबारबाट शुरू गरेको थियो । नौ महिला टोली सहभागी महिला लिगमा पहिलो दिन दुई, दोस्रो दिन दुई खेल सम्पन्न भएका थिए ।
च्यासलमा भइरहेको लिगको दोस्रो दिनका दुई खेल पनि खेलिएका थिए। तर म्याच नम्बर ५ पछि शहीद स्मारक महिला लिगका खेलहरू पनि प्राविधिक कारणले अर्को सूचना नआएसम्म स्थगित गरिएको एन्फाले ९ क्लबहरुलाई पत्र पठाइएको छ ।
बिहीबार नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडलाई ५-० ले हरायो। त्यो अघि बागमती युथ क्लबले आरएस पोखरालाई ५-४ ले पराजित गरेको थियो। पहिलो दिन संकटाले एनआरटीलाई ४-० र दोस्रो दिन त्रिभुवन आर्मी क्लबले झापा एफसीलाई ५-० ले हराएको थियो।
अब विभागीय टिम एपीएफले अझै खेल्न बाँकी छ ।

अध्यागमनको पत्रपछि लिग स्थगित
एन्फाको दुई लिगलाई एकै दिन स्थगित गर्न बाध्य बनाउने माध्यम अध्यागमन विभागको एक पत्र नै थियो ।
राष्ट्रिय लिगमा पर्यटक भिसामा रहेका विदेशी खेलाडीहरू खेलिरहेको भन्ने उजुरी पाएपछि बिहीबार बिहानै अध्यागमन विभागले युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई जानकारी गराउँदै एन्फालाई पत्र काटेको थियो । त्यसपछि माहोल निकै तनावपूर्ण बन्दै गएको थियो ।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले भने, ‘पर्यटक भिसा लिएर यहाँ खेल्न पाइँदैन । हामीले खेलाउने संस्थालाई जिम्मेवार हुनुपर्ने, खेलाडीले नियम पूरा नगरे कारवाही गरिने छ। हामीले श्रम स्वीकृति लिन आग्रह गर्दै पत्र पठाएका हौं।’
अध्यागमन नियमावली २०५१ को नियम २० अनुसार भिसा प्राप्तकर्ता भिसाको उद्देश्य बाहेक काम गर्न सक्दैनन् ।
तर एन्फाले पुरुष र महिला लिगमा पर्यटक भिसामा रहेका विदेशी खेलाडीहरूलाई समेत सहभागी गराएको उजुरीपछि विभागले एन्फालाई पत्र पठाएको हो ।
पत्रमा विदेशी खेलाडीले नियमअनुसार श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने र आजैदेखि अनुगमन सुरु भएको समेत उल्लेख छ । यस विभागबाट अनुगमन सुरु भएदेखि स्वीकृति नलबाएका खेलाडीहरूलाई भिसा उद्देश्य विपरीत खेल खेलाउन पाइएन भने तुरुन्त कारवाही गरिने बताइएको छ ।
श्रम स्वीकृति नलिई विदेशी खेलाडीहरूलाई राष्ट्रिय लिगमा खेलाएको विषयमा यसअघि नै राष्ट्रीय खेलकुद परिषद् र अध्यागमन विभागमा उजुरी परेको थियो ।

त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले चैत १ गते एन्फालाई श्रम स्वीकृति बिना खेलिरहेका विदेशी खेलाडीहरूको सूची बुझाउन पत्र पठाएको थियो । तर एन्फाले लिग सञ्चालन जारी राखेको थियो ।
अध्यागमनको पत्रपछि एन्फाले लिग स्थगित गर्न बाध्य भएको हो ।
एन्फा सीईओ ईन्द्रमान तुलाधारले पनि अध्यागमनको पत्रपश्चात लिग स्थगित भएको बताएका छन्।
तर दिउँसो राखेपले चैत १३ को साधारण सभा र निर्वाचन नगर्न कडा पत्र पठाएपछि अझ विवाद बढेको थियो। त्यसपछि एन्फा नेतृत्व राखेप सदस्य सचिवलाई भेट्न पुगेको थियो।
एन्फा निर्वाचन विषयमा फिफासँग पनि छलफल भएको र विधान अनुसार निर्वाचन अघि बढाइएको अध्यक्ष र महासचिवले राखेप सदस्य सचिवसँग जानकारी गराएको एन्फा प्रवक्ताले उल्लेख गरेका छन्।
बिहीबार साँझ एन्फा महासचिव किरण राईले सदस्य जिल्ला, क्लब र संघहरूलाई पत्र लेख्दै चैत १३ गते हुने निर्वाचनमा सहभागी हुन आह्वान गर्दै बैठक सूची समेत पठाएका छन्।
एन्फाले पेलेरै निर्वाचन गर्ने हो कि भन्ने प्रश्नमा एन्फाका प्रवक्ताले ‘एन्फा विधान अनुसार नै निर्वाचन अघि बढाइएको हो’ भनेर संक्षिप्त जवाफ दिएका छन्।






