समाचार सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति छोडेर मानवीय आधारमा राजनीति गर्नुपर्नेमा जोड दिएका छन्।
- गणतन्त्र स्थापना पश्चात सबै जाति र समुदायले समान अधिकार पाएको उल्लेख गर्दै उनले अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।
- समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानले सुनिश्चित गरेको र पहिचानको राजनीतिलाई विभाजनकारी रूपमा प्रयोग गर्न नहुने स्पष्ट पारे।
५ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति छोडेर मानवीय मूल्यमाथि आधारित राजनीति गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशनमा बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले Nepalमा गणतन्त्र स्थापना पश्चात सबै जाति र समुदायले समान अधिकार पाएको उल्लेख गरे ।
गणतन्त्र स्थापनापश्चात जनजाति, मधेशी, मुस्लिम, महिला तथा खस आर्य लगायत सबै समुदायले अधिकार पाएको बताउँदै अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी व्यवस्थापनतर्फ ध्यान दिने समय आएको बताए ।
समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानले सुनिश्चित गरेको हुँदा पहिचानको राजनीति संस्कृति, परम्परा र अस्तित्व जोगाउन आवश्यक भए पनि विभाजनकारी रूपमा प्रयोग गर्न नहुने बताए ।
सशस्त्र द्वन्द्वकालीन सन्दर्भ उल्लेख गर्दै उनले त्यतिबेला जातीय पहिचानभन्दा माथि उठेर सेना, प्रहरी र सर्वसाधारण नागरिकले ज्यान गुमाएको स्मरण गराए ।
उनले भने, ‘जातको पहिचान, जातकै अस्तित्व समावेशी र समानुपातिक प्रतिनिधित्व संविधानले सुनिश्चित गरेको छ । अब हामीले सधैं अधिकारको लागि लड्ने होइन, कर्तव्यको व्यवस्थापनमा जानुपर्ने छ ।’
सबै वर्ग र समुदायको अधिकार कार्यान्वयनसँगै मुलुकको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आजको आवश्यकतामा उनले जोड दिए ।







