
स्वीकृतिबिना एन्फाले निर्वाचन नगर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटक–पटक निर्देशन दिइसकेको छ। तर एन्फा भने जबरजस्तै निर्वाचन गर्न खोजिरहेको छ।
समाचार सारांश
संपादकीय समीक्षाद्वारा तयार।
- एन्फाले राष्ट्रिय खेलकुद परिषद्को निर्देशन उल्लङ्घन गर्दै १३ चैतमा निर्वाचन गर्ने तयारी गरिरहेको छ।
- एन्फाको नेतृत्वको लापरबाहीले पुरुष र महिला राष्ट्रिय लिग स्थगित भएका छन्।
- नेपाली फुटबलको दशरथ रंगशाला दुई वर्षदेखि एएफसीबाट अयोग्य घोषित छ र विदेशी प्रशिक्षकहरूले एन्फाको नेतृत्वलाई असफल ठहराएका छन्।
५ चैत, काठमाडौं। बिहीबार दिउँसो एन्फा कम्प्लेक्स मैदानमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबीच खेल जारी थियो।
तर बाहिर रहेको गेटमा ती नै क्लब सञ्चालकहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध धर्ना बसेका थिए। एन्फा पदाधिकारीहरूलाई न त खेल र न त क्लब सञ्चालकहरूको चासो देखिन्थ्यो।
एन्फाको ध्यान ‘अर्ली इलेक्सन’ गरेर आफ्नो पुनः नेतृत्व कायम गर्ने दिशामा बढी छ। राष्ट्र खेलकुद परिषद् (राखेप)ले स्वीकृति नलिइ निर्वाचन नगर्न बारम्बार निर्देशन दिइरहे पनि एन्फा त्यसलाई बेवास्ता गर्दै निर्वाचनको तयारीमा छ।
निर्वाचन आयोग र अदालतले रोक लगाएपछि २८ माघमा हुँदै नसकेको एन्फाको निर्वाचन अब १३ चैतमा गरिने तयारी छ। अर्थात् पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाको ध्यान खेल मैदानभन्दा निर्वाचन प्रक्रियामा बढी छ।

एन्फाको नेतृत्वकै लापरबाहीका कारण राष्ट्रिय लिग स्थगित भएको छ। पुरुषतर्फ ९८ खेल सकिँदा पनि लिग स्थगित हुनुमा नेतृत्वको जिम्मेवारी छ।
अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार, भिसा प्राप्त विदेशीले भिसाको उद्देश्य बाहेक अन्य काम गर्न नपाउने स्पष्ट छ। तर एन्फाले श्रम स्वीकृति नलिएका विदेशी खेलाडीहरूलाई मैदानमा उतार्दै आएकोछ, जुन कारणले लिग स्थगित हुन पुगेको हो। बुधबार मात्रै सुरु भएको महिला राष्ट्रिय लिग पनि स्थगित गरिएको छ।
महत्त्वपूर्ण यी लिगहरू लगातार स्थगित भइरहेका बेला एन्फा नेतृत्व फेरि दोहोरिने तयारीमा छ। उनीहरू राखेपको निर्देशनलाई सम्मान गर्न तयार छैनन् र जबरजस्ती निर्वाचन गरेर पछि राज्यले हस्तक्षेप गरेको भन्दै विश्व फुटबल परिषद् (फीफा)बाट नेपाललाई निलम्बनको अवस्थामा पुर्याउन सक्छन् भन्ने जोखिम पनि देखिएको छ।
सबैभन्दा ठूलो घरेलु प्रतियोगिता ‘ए’ डिभिजन लिग लगभग हजारौं दिनदेखि स्थगित छ। तर एन्फाले खेलाडीहरू अथवा क्लबहरूलाई दोष लगाउँदै ‘ए’ डिभिजन लिग आयोजना गर्न सकेको छैन।
एकै विषयमा क्लबहरूसँग भनेको सम्झौता खेलाडी संघसित फरक छ।
गत कात्तिकमा एन्फाले अर्को वर्षदेखि ‘होम एन्ड अवे’ प्रणालीअन्तर्गत ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने सहमति क्लबहरूसँग गरेको थियो। तर नेपाली फुटबल खेलाडी संघले विरोध जनाएपछि एन्फाले चैत ३० गते लिग गर्ने अर्को सहमति गरिसकेको छ। एन्फाको एकपक्षीय निर्णयपछि क्लबहरू असन्तुष्ट छन्।
महत्त्वपूर्ण ‘ए’ डिभिजन लिग नहुँदा खेलाडीहरू भविष्य खोज्दै विदेश जान बाध्य भएका छन्। तर एन्फालाई यस विषयमा चासो छैन।
एन्फा माग सुन्न इच्छुक छैन। राष्ट्रिय लिग खेलिरहेका क्लबहरू पनि खेल्ने नखेल्ने अन्योलमा छन्।
एन्फा आफैं लिग कसरी सञ्चालन गर्ने र खेलाडी कसरी समेट्ने भन्नेमा अलमलमा देखिन्छ। आन्दोलनरत खेलाडीहरूलाई रोक्नका लागि तीव्र निर्णय गर्ने प्रवृति व्यहोरेको छ। सहमतिअनुसार ‘ए’ डिभिजन लिग खेल्ने गरी कतिपय खेलाडीहरू विदेशिएका छन्।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला दुई वर्षदेखि एएफसीबाट अयोग्य घोषित छ। रंगशाला नहुँदा नेपाली खेलाडीहरू होम ग्राउन्डमै खेल्न नसक्ने बाध्यतामा परेका छन्। एन्फा नेतृत्व भने आफू विदेश जानको लागि लालायित देखिन्छ।
नेतृत्वको कार्यशैली न नेपालीले मन पराएको छ न विदेशीले। एन्फा नेतृत्व असक्षम छ भन्ने कुरा विदेशी प्रशिक्षकहरूले समेत प्रमाणित गरिसकेका छन्।
राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले ८ महिनामै पदबाट राजीनामा दिएका छन्। उनले एन्फासँगको असन्तुष्टिका कारण ४ महिना बाँकी सम्झौता रहँदै राजीनामा दिएका हुन्। महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड पनि एक महिनाभन्दा लामो समय टिक्न सकेनन्।






