Skip to main content

सुहाङ नेम्वाङलाई एमालेले बनाउनेछ संसदीय दलको नेता?

समाचार सारांश

Generated by OK AI. सम्पादकीय रूपमा समीक्षा गरिएको।

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सबै प्रत्यक्ष पदाधिकारीहरू पराजित भएका छन् भने युवा नेता सुहाङ नेम्वाङ इलाम-२ बाट दोहोरिएर निर्वाचित भएका छन्।
  • सुहाङले २२ हजार ४२६ मत ल्याएर कांग्रेसका भेषराज आचार्यलाई ७ हजार ७७६ मतले पराजित गरेका छन् र एमालेभित्र सहज जित निकाल्ने नेता मानिन्छन्।
  • सुहाङ संसदीय दलको नेता बन्ने तयारीमा छन् र पार्टीभित्र नयाँ पुस्तासँग जोड्न तथा पुरानो पुस्ताको योगदानलाई खेर जान नदिन दबाब बढ्दै गएको छ।

५ चैत, काठमाडौं। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित प्रत्यक्षतर्फका सबै पदाधिकारीहरू पराजित हुँदा नेकपा एमालेका केही युवा नेताहरूले निर्वाचन जितेका छन्।

यी निर्वाचितमध्ये सबैभन्दा कान्छा भनेका छन् – सुहाङ नेम्वाङ।

इलाम-२ बाट दोहोरिएर निर्वाचित भएको सुहाङ ३६ वर्षका छन्। संविधानसभाका अध्यक्ष र एमालेका पूर्व उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा सुहाङ पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

तर जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण उनले उपनिर्वाचनपछिको बाँकी अवधि सांसद भएर सेवा दिन सकेनन्। सुहाङ सांसद बनेको १६ महिनाभित्रै गत २३ भदौमा जेनजी आन्दोलन भयो र प्रतिनिधिसभा विघटन गरियो।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचन एमालेका लागि संसदीय इतिहासकै प्रतिकूल रह्यो। रास्वपाले दुई तिहाइ नजिकको एकल जित निकाल्दा, प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी एमालेको संख्या जम्मा २५ सिटमा सीमित भयो।

४९ जना उम्मेदवारले जमानत पनि बचाउन नसकेको अवस्थामा एमालेभित्र तुलनात्मक रूपमा राम्रो मत ल्याउने उम्मेदवार र निर्वाचन क्षेत्रहरूको विश्लेषण भइरहेको छ। ‘हार त हामीले व्यहो¥यौं, तर भोलिको योजना बनाउनका लागि नतिजाको एकीकृत विश्लेषण भइरहेको छ,’ एक नेताले भने।

नेताहरूका अनुसार, अधिकांश क्षेत्रको नतिजा सन्तोषजनक छैन। तर जित्नेहरूमा सुहाङ नेम्वाङको जित तुलनात्मक रूपमा सहज देखिन्छ। यद्यपि सबैभन्दा धेरै मत पाएका उम्मेदवार बाँके-२ बाट निर्वाचित मोहम्मद इस्तियाक राई हुन्।

इस्तियाकले २४ हजार ६२८ मत लिएर जितेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६८२ मत मात्र पाएका छन्। मतान्तर ५ हजार ९४६ छ।

दोस्रो सबैभन्दा धेरै मत भने सुहाङले पाएका छन्। २२ हजार ४२६ मत ल्याएको सुहाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भेषराज आचार्यलाई १४ हजार ६५० मत मात्र दिनु भएको थियो। मतान्तर ७ हजार ७७६ छ।

अर्थात्, एमालेभित्र निर्वाचित ९ जनामध्ये सहज जित निकाल्ने नेता सुहाङ नै हुन्। पदाधिकारीहरूको पराजयका बाबजुद पनि मतान्तरको कीर्तिमान कायम गर्दा सुहाङको आकर्षण पार्टी भित्र र बाहिर दुवै ठाउँमा बढेको देखिन्छ।

इलाम-२ को उपनिर्वाचनमा निर्वाचित भएपछि सुहाङलाई शुभकामना दिँदै एमाले अध्यक्ष केपी शर्मा ओली ।

‘राजनीतिमा जस्तो लहर चलेको छ र सुहाङले सहज जित निकालेकोले पनि उनको लोकप्रियता बढेको हुन सक्छ,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘उनको जितले पार्टीभित्र युवा पुस्तामा आशाको सन्देश गयो।’

नेताहरूका अनुसार, सुहाङले आफूले पाएको अवसरलाई पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणका लागि उपयोग गर्ने तयारी गर्दैछन्। ‘पार्टी संकटमा हुँदा समेत सजिलै जितेका सुहाङलाई युवा पुस्ताले रुचाएका छन्,’ एमालेका एक नेता भन्छन्, ‘अब एमालेलाई नयाँ पुस्तासँग जोड्न र पुरानो पुस्ताको योगदानलाई नष्ट हुन नदिन सुहाङ संसदीय दलको नेता बन्नुपर्छ भन्ने दबाब बढिरहेको छ। यो कुरा सुहाङले पनि महसुस गरेका छन्।’

उनी निकटस्थहरूबीच दलको नेता बन्नेबारेमा छलफल सुरु भइसकेको बताउँछन्। ‘अहिलेकै एमाले समीकरणमा सुहाङलाई दलको नेता बनिन सजिलो छैन, तर उहाँ अग्रसर हुनुभएको छ,’ उनी भन्छन्।

एमाले सचिव पद्मा अर्याल संसदीय दलको नेताको बारेमा पार्टीभित्र अझै छलफल नभएको बताउँछिन्। ‘समानुपातिक सांसदहरूले प्रमाणपत्र पाइसकेका छैनन्। १६ गते शपथ ग्रहण हुने कुरा छ,’ अर्यालले भनिन्, ‘शपथपछिमात्र दलको नेता तय हुने सम्भावना छ।’

अवसर अनुसार नियम र परम्परा अनुसार दलको नेता चयन हुनेछ। अर्यालको भनाइ अनुसार समानुपातिक सांसद बनेका पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सम्भवतः एमाले संसदीय दलको नेता बन्न सक्छन्। त्यसपछि उहाँसँगै अर्याल, पूर्व उपाध्यक्ष गुरु बराल वा लेखा आयोगका अध्यक्ष पुष्प कँडेल वरिष्ठ नेताको रूपमा दलको नेता बन्न सक्नेछन्।

तर उच्च भूमिकामा भएर पनि सांसद पद सुरक्षित गर्न समानुपातिक कोटा रोजेकाहरूलाई दलको नेता बनाएर एमालेको लोकप्रियता बढ्नेमा संदेह छ। यिनीहरूकै समर्थन लिएर सुहाङ दलको नेता बन्न चाहन्छन्।

‘पुरानो पुस्ताको योगदान बुझ्ने र नवयुवालाई आकर्षित गर्न सक्ने पात्रका रूपमा परिस्थितिले मलाई उभ्याएको छ,’ सुहाङले निकटस्थ नेताहरूसँग भनेका छन्, ‘यो निर्वाचनको सन्देशलाई सम्मान गर्न मलाई दलको नेता बन्न सहयोग चाहिन्छ।’