
अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन आयोजनाको सार्वजनिक सुनुवाइमा स्थानीयबासीले मकवानपुरको कुख्रेनी खोलाबाट पानी अमलेखगञ्जतर्फ तान्ने माग गरेका छन्। जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले आयोजनासँग सहकार्य गरी पानी डाइभर्सनको काम गर्न उपमहानगर तयार रहेको बताएका छन्। आयोजना प्रमुख प्रदीपकुमार यादवले उपमहानगरपालिकाले औपचारिक प्रस्ताव गरेमा पानी डाइभर्सनबारे छलफल गर्न सकिने बताएका छन्। १४ साउन, बारा।
मकवानपुरको कुख्रेनी खोलाबाट पानी तान्ने व्यवस्था मिलाइदिन स्थानीयवासीले अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन आयोजनासँग माग गरेका छन्। बाराको जितपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा बिहीबार वातावरणीय प्रभाव मूल्यांकनका लागि सार्वजनिक सुनुवाइमा सहभागी स्थानीय र जनप्रतिनिधिले अमलेखगञ्जमा दीर्घकालीन खानेपानी समस्याको समाधानका लागि उक्त आयोजनालाई अनुरोध गरेका छन्। सार्वजनिक सुनुवाइमा उपमहानगरपालिका–२१ का वडा अध्यक्ष सुवास श्रेष्ठले पाइपलाइन आयोजना निर्माणको समयमा बारा र मकवानपुर सीमामा पर्ने कुख्रेनी खोलाबाट पानी अमलेखगञ्जतर्फ ल्याउने काम गर्न आयोजना प्रमुख प्रदीपकुमार यादवलाई अनुरोध गरेका थिए।
‘मकवानपुरको कुख्रेनी खोलाबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने बाराको चुरेखोलामा पानी झार्न सके वन्यजन्तु, वातावरण र स्थानीयवासी सबैलाई राहत पुग्नेछ,’ श्रेष्ठले भने। मकवानपुरको राप्ती र कुख्रेनी खोलाको पानी अमलेखगञ्जतर्फ तान्ने विषयमा लामो समयदेखि छलफल हुँदै पनि कुनै सार्थक नतिजा नआएका कारण स्थानीयले पाइपलाइन मार्गमै यसलाई स्वीकृति दिन प्रस्ताव अघि सारेका छन्।
नेरामावि अमलेखगञ्जका शिक्षक रोहित घिसिङले पटक–पटक स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधि र सरकारले देखाएको सपना आयल निगमले पुरा गर्ने विश्वास व्यक्त गरे। ‘हामीलाई सबैले सपनामात्र देखाए, पाइपलाइन बनेपछि पानी डाइभर्सनमा सहयोग गरिदिए हामी आयल निगमप्रति ऋणी हुने थियौं,’ उनले भने। जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले उपमहानगर र पर्सा राष्ट्रिय निकुञ्जले पनि आयल निगमसँग लगानीमा सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै पानी डाइभर्सनमा सहयोग गर्न आग्रह गरे।
‘आयल निगम, निकुञ्ज र उपमहानगरबीच पहिले पनि छलफल भइसकेको छ, अहिले उपयुक्त समय हो, तपाईंहरुले चाहनुभयो भने हामी लगानी र सहकार्यमा तयार छौं,’ अधिकारीले भने। अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन आयोजना प्रमुख यादवले प्राविधिक जटिलता र लगानीको मोडालिटीसम्बन्धी जानकारी दिँदै आयोजनाले स्थानीयले माग गरेअनुसार खोलाको पानी डाइभर्सनमा मात्र एक्लैले सहयोग गर्न असमर्थ रहेको बताए। ‘अहिले तपाईंले सोचे जति सजिलो छैन, तर स्थानीय सरकारबाट प्रस्ताव आएमा छलफल अघि बढाउन सकिन्छ,’ यादवले स्थानीयलाई भने।
जितपुरसिमरा उपमहानगरपालिकाले औपचारिक प्रस्ताव गरेमा त्यस विषयमा छलफल गर्न सकिने यादवले बताए। ‘प्रस्ताव आउनुपर्छ, वातावरणीय जटिलताहरूको बारेमा कुरा हुनेछ, त्यसपछि बाँकी कुरा अघि बढ्नेछ,’ उनले भने। आयोजना क्षेत्रअन्तर्गत पर्ने बाराको भूभागमा जीतपुरसिमरा उपमहानगरपालिकाको २१ र २२ नम्बर वडा पर्दा स्थानीय सरोकारवालासहित सार्वजनिक सुनुवाइ आयोजनाले आफ्नो सभाहलमै गरेको हो। उक्त आयोजनाबाट प्रभाव पर्ने क्षेत्रहरूमा बारा, मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका सातवटा वडा, मनहरी गाउँपालिकाका चारवटा वडा र चितवन राप्ती नगरपालिकाको वडा नम्बर १ लोथर पर्दछन्।
लोथरमा ग्रिनफिल्ड टर्मिनल निर्माणसहित वातावरणीय प्रभाव मूल्यांकनका लागि सार्वजनिक सुनुवाइको व्यवस्था छ भनी आयोजनाका प्रमुख यादवले जानकारी दिए। ‘मनहरी, हेटौंडा र लोथरमा छुट्टाछुट्टै कार्यक्रम गरी सुझाव सङ्कलन गर्नेछौं,’ उनले बताए। अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन आयोजना बारा अमलेखगञ्जबाट सुरु भएर चितवनको लोथरमा समाप्त हुनेछ। ६०.२४१ किलोमिटर लामो पाइपलाइनका लागि लोथरमा ग्रिनफिल्ड टर्मिनल निर्माणको काम सुरु भइसकेको छ। यादवका अनुसार यो पाइपलाइन भारतको सहयोगमा निर्माण हुनेछ भने ग्रिनफिल्ड टर्मिनल आयल निगमको आफ्नै लगानीमा बन्नेछ। पाइपलाइनका लागि २ अर्ब ६८ करोड र टर्मिनलका लागि ६ अर्ब १३ करोड रुपैयाँ लगानी हुने छ।






