बोधगया विवाद: ‘बुद्धले आध्यात्मिक ज्ञान प्राप्त गरेको ठाउँमा हिन्दूहरू के गरिरहेका छन्?’

भारतको बिहार राज्यमा अवस्थित महाबोधि मन्दिर विश्वभरिका बौद्ध धर्मावलम्बीहरूको लागि एक पवित्र तीर्थस्थल मानिन्छ। बौद्ध शिक्षाअनुसार बुद्धले यहीँबाट आध्यात्मिक ज्ञान प्राप्त गरेका थिए र यही स्थानबाट बौद्ध धर्मको आरम्भ भएको थियो। तर अहिले बौद्धमार्गीहरूको यो पवित्र स्थल विवादको विषय बनिरहेको छ। मन्दिरको व्यवस्थापन हिन्दूहरूको बहुलता भएको समितिद्वारा गरिन्छ। भारतका बौद्ध धर्मावलम्बीहरू चाहन्छन् कि मन्दिरको प्रशासन पूर्ण रूपमा आफ्नो हातमा होस्। तर अर्कोतर्फ हिन्दूहरूले बुद्धको महाबोधि मन्दिरमा आफ्नो पनि अधिकार रहेको दाबी गरिरहेका छन्। देशभरका हजारौं बौद्धमार्गीहरूले यस विषयमा विरोध प्रदर्शन गरिरहेका छन्। महाबोधि मन्दिर नजिकै धेरै मानिसहरू विगत डेढ वर्षदेखि धर्नामा बसेका छन्। उनीहरूले बोधगया ऐन (बीटीए) खारेज गर्न र मन्दिरलाई पूर्ण प्रशासनिक अधिकार दिन माग गरिरहेका छन्।
सन् १९४९ मा बनेको ऐनअनुसार महाबोधि मन्दिरको व्यवस्थापनका लागि एक समिति गठन गरिएको थियो। यस समितिमा चार जना बौद्ध र चार जना हिन्दू धर्मावलम्बी सदस्य थिए। समितिको नेतृत्व जिल्ला मजिस्ट्रेटले गर्नुहुन्छ, जो सामान्यतया हिन्दू धर्मावलम्बी हुन्छन्। यी सदस्यहरू सरकारद्वारा मनोनित हुन्छन् र उनीहरूको कार्यकाल तीन वर्षको हुन्छ। यसै कारण समिति हिन्दूहरूको नियन्त्रणमा रहेको बौद्ध धर्मावलम्बीहरूले बताएका छन्। समितिका सचिव भन्ते प्रज्ञाशील आठ वर्षदेखि मन्दिरका प्रमुख भिक्षु हुन्। उनका अनुसार बोधि विहार बौद्धमार्गीहरूको सम्पदा हो। “सारा विश्वलाई यो ठाउँ बौद्धमार्गीहरूको हो भन्ने थाहा छ। अहिलेसम्म कसैले पनि यो बौद्ध मन्दिर होइन भनेका छैनन्। हामी यसलाई बौद्धमार्गीहरूले व्यवस्थापन गर्न चाहन्छौं,” उनले भने। “जो कोही पनि इमानदार मुख्यमन्त्री वा प्रधानमन्त्रीले संविधान अनुसार न्याय गर्नैपर्छ। जुन कुरा जसको हो, उसैलाई दिनुपर्छ। आज, भोलि वा पर्सि, जुनसुकै बेला दिइए पनि उनीहरूले दिनैपर्नेछ। यो अनियमितता निरन्तर रहन सक्दैन।”






