टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले होर्मुज जलमार्गमा अवरुद्ध भएको आवागमन पुनः सञ्चालनका लागि महिनौँदेखि गरिएका प्रयास सफल नहुँदा दुख प्रकट गरेका छन्। उनी इस्तानबुलमा आयोजित अन्तर्राष्ट्रिय न्याय सम्मेलनमा बोल्दै यस विषयमा चिन्ता व्यक्त गरे। एर्दोगानले अन्तर्राष्ट्रिय सम्झौताहरूको बेवास्ता बढिरहेको र अन्तर्राष्ट्रिय अदालतका निर्णयहरू पनि कार्यान्वयन हुन छाडेको कुरा उल्लेख गर्दै चिन्ता व्यक्त गरे। ‘अन्तर्राष्ट्रिय सम्झौताहरूले आफ्नो प्रभावकारिता गुमाएका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय अदालतबाट जारी निर्णयहरू पनि अब लागू हुन छाडेका छन्,’ उनले भने। उनले विश्व व्यवस्थाको समेत आलोचना गर्दै भने, ‘संयुक्त राष्ट्रसंघको प्रणालीले अन्तर्राष्ट्रिय समुदायको इच्छालाई प्रतिबिम्बित गर्न नसके त्यसलाई वैध र न्यायोचित मान्न सकिन्न।’