Skip to main content
Advertisementxtreme adv

बुढीगण्डकी बाढी: “अब घरमा निश्चिन्त भएर सुत्न सकिँदैन”

बुढीगण्डकी नदीमा अचानक आएको भीषण बाढीपछि तल्लो तटमा बस्नेहरूमा एक नयाँ प्रकारको चिन्ता बढेको देखिन्छ। आइतबार बिहान आएको उक्त प्रकोपबाट प्रभावित गोरखा जिल्लाको आरुघाट बजारका एक जनप्रतिनिधिले बाढीबारे अब नयाँ धारणा जन्मिएको बताएका छन्। आरुघाट वडा नं. ३ का अध्यक्ष टेकबहादुर अधिकारीले भने, “पहिले हामी सोच्छौं कि ठूलो पानी परे बाढी आउँछ। तर यकिन भयो कि बाढी आउन पानी ठूलो हुनै पर्दैन। कतै पानी नपरे पनि यत्रो बाढी आईसक्यो।”
“अब हामीलाई थाहा भयो हिउँद र बर्खा जुनसुकै बेला नदी फुटेर बाढी आउन सक्छ। त्यसैले मानिसहरू अब घरमा निश्चिन्त भएर सुत्न सक्दैनन्।” आरुघाट-३ स्थित सोती बजार नजिकै बुढीगण्डकीले ल्याएको लेदो र भग्नावशेषले सडक पुरिएकोपछि अधिकारीहरू साँझसम्म सफाइमा जुटेका छन्। बाढीले प्रभावित भएका घरहरूबाट झण्डै दुई दर्जन मानिसलाई सुरक्षित स्थानमा राख्ने प्रयास भइरहेको उनले बताए।
अधिकारीका अनुसार यी परिवारहरूलाई छिमेकीको घर वा विद्यालय भवनमा राखिने छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका वडा नम्बर ६ मा ठूलो पहिरो गएर बुढीगण्डकी नदी अवरुद्ध हुँदा बाढी आएको जनाएको छ।
सरकारको प्रारम्भिक विवरण विश्लेषण गरेका अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले चुम्चेत नजिकै बुढीगण्डकी नदी अस्थायी रूपमा थुनिएको र बिहान ४ बजेबाट बाढी शुरू भएको अनुमान गरेका छन्। ठूलो मात्रामा माटो, ढुङ्गा र बालुवाको बाढीले बुढीगण्डकी कोरिडोरको तल्लो तट क्षेत्रमा खतरा बढाएको अधिकारीहरूले बताएका छन् र सावधानी अपनाउन आग्रह गरेका छन्।