
तिलोत्तमा–कुञ्जलापुरमा सम्पन्न ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि चरङ्गे युथ क्लब देवदहले जितेको छ। आइतबार उमा आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइनलमा चरङ्गेले गोर्खा ब्वाइज क्लब बुटवललाई ३–१ गोलले पराजित गरेको हो। उपाधिसँगै चरङ्गेले चार लाख रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गोर्खा ब्वाइजले दुई लाख रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र पाएको छ।
प्रतियोगितामा गोर्खा ब्वाइजका विदेशी खेलाडी सिल्ला उत्कृष्ट डिफेन्डर घोषित भएका छन्। चरङ्गेका कृष्ण आले उत्कृष्ट मिडफिल्डर, भीम पुन उत्कृष्ट गोलरक्षक र अभिनास उत्कृष्ट खेलाडी बनेका छन्। आयोजक झरना स्पोर्ट्स क्लबका दीपसन सापकोटा उदीयमान खेलाडी घोषित भएका छन्। विजेता तथा उपविजेता टोलीलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, झरना स्पोर्ट्स क्लबका अध्यक्ष धनेन्द्र पौडेल र तिलोत्तमा नगर खेलकुद विकास समितिका संयोजक लोक पुनलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।







