
३ चैत, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको मामिलाहरू बैठकमा छलफल गर्नुपर्ने हो कि सामाजिक सञ्जालमा भन्ने प्रश्न उचित भए पनि एमालेमा सामाजिक सञ्जालको कुनै स्थान नरहेको बताएका छन् । मंगलबार राति फेसबुकमार्फत् पाण्डेले एमालेका बैठकलाई आदेश जारी गर्ने मात्र स्थान भन्दै टिप्पणी गरेका छन् ।
‘हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस योजना प्रस्तुत गर्यौँ र कमजोरीहरू औंल्यायौँ,’ पाण्डेले लेखेका छन्, ‘तर ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्न र छलफल गर्नुभन्दा नोट अफ डिसेन्टको एउटा कुनामा मात्र सीमित गरियो ।’ उनले भने कि जब बैठक सुन्ने र सुधार गर्ने ठाउँ हुँदैन, त्यसको प्रभावकारितामा प्रश्न उठ्छ ।
‘जब बैठक केवल सुनाउने र हुकुम दिने औपचारिकता मात्र हुन्छ, तब त्यसमा विवेकको मृत्यु हुन्छ र अहंकारले स्थान पाउँछ,’ उनले थपे ।
अगाडि उनले भने कि अबको एमाले ‘बन्द कोठा’ को षड्यन्त्र वा केही सीमित व्यक्तिहरूको योजनाबाट नभई, सर्वसाधारण कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिबाट अगाडि बढ्नुपर्नेछ ।






