
३ चैत, काठमाडौं । अर्जेन्टिनाले मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट औपचारिक रूपमा आफ्नो सदस्यता फिर्ता लिएको छ ।
संयुक्त राज्य अमेरिकाको पछ्याउँदै, अर्जेन्टिनाले पनि आफ्नो डब्ल्युएचओ सदस्यता परित्याग गरेको हो । अमेरिकाले यस वर्षको सुरुमा यही निर्णय गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका नजिकका सहयोगी मानिएका अर्जेन्टिनी राष्ट्रपति ज्याभियर माइलीको सरकारले कोभिड-१९ महामारी नियन्त्रणमा विश्व स्वास्थ्य संगठनको आलोचना गर्दै एक वर्षअघि संयुक्त राष्ट्रसंघको स्वास्थ्य संस्था छोड्ने घोषणा गरेको थियो ।
अर्जेन्टिनाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय सन्धिले तोकेको समयसीमा भित्र फिर्ता प्रक्रिया सम्पन्न भइसकेको जनाएको छ ।
‘अर्जेन्टिनाले आफ्नो सार्वभौमिकता र स्वास्थ्य नीतिहरूमा निर्णय गर्ने स्वतन्त्रता पूर्ण रूपमा संरक्षण गर्नेछ र द्विपक्षीय सम्झौताहरू तथा क्षेत्रीय मञ्चहरू मार्फत अन्तर्राष्ट्रिय स्वास्थ्य सहयोगलाई निरन्तरता दिनेछ,’ अर्जेन्टिनी विदेशमन्त्री पाब्लो क्विर्नोले सामाजिक सञ्जाल एक्समा भनिरहेका छन्।
गत वर्ष अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनका सिफारिसहरू विज्ञानमा आधारित नभई राजनीतिक स्वार्थमा आधारित भएको भन्दै ती प्रभावकारी नभएको घोषणा गरेको थियो।
ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि बहुराष्ट्रिय समूहबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि एक वर्षपछि अमेरिकाले जनवरीमा डब्ल्युएचओबाट औपचारिक रूपमा बाहिरिने घोषणा गरेको थियो।
विश्व स्वास्थ्य संगठनले बिफर उन्मूलन, पोलियो, एचआईभी, इबोला र क्षयरोग जस्ता रोगसँग लड्न र जनस्वास्थ्य जोखिमहरूलाई व्यवस्थापन गर्न विशेष भूमिका खेलेको छ।
गत जनवरीमा विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेहब्रेयससले यस निर्णयप्रति गहिरो खेद प्रकट गर्दै यसले संयुक्त राज्य अमेरिका र विश्वलाई असुरक्षित बनाउने बताएका थिए। –रासस






