
समाचार सारांश
एआई द्वारा तयार पारिएको। सम्पादकीय समीक्षा।
- बाराको नव जन जागृति युवा क्लबले सुर्खेतको कांक्रेविहार क्लबलाई २-१ गोलले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा पहिलो जित हासिल गरेको छ।
- उदित नारायण चौधरीले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै नव जन जागृतिलाई ३ अंक दिलाएका छन्।
- श्री भगवती क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोलले हराउँदै लिगमा तेस्रो जित हात पारेको छ।
३ चैत, काठमाडौं । बाराको नव जन जागृति युवा क्लबले राष्ट्रिय लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । टोलीले सुर्खेतको कांक्रेविहार क्लबलाई २-१ गोलले पराजित गरेको हो ।
दुवै टोलीले १० खेलसम्म कुनै पनि जित हात पारेका थिएनन्। मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नव जन जागृतिले कांक्रेविहारलाई २-१ ले उछिन्दै पहिलो जित हासिल गर्यो।
उदित नारायण चौधरीले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा निर्णायक गोल गरेका थिए, जसले नव जन जागृतिलाई ३ अंक दिलायो।
यसअघि चिना लामाले ३६औं मिनेटमा गोल गर्दै नव जन जागृतिलाई अग्रता दिलाएका थिए भने सोनाम आचार्यले ८७औं मिनेटमा बराबरी गोल फर्काएका थिए।
यो पहिलो जीतपछि नव जन जागृतिले ११ खेलबाट ४ अंक जोड्दै १६औं स्थानमा एक स्थान उक्लिएको छ। समान खेलबाट कांक्रेविहार १ अंकमा सीमित रहँदै १७औं स्थानमा झरेको छ।
मंगलबार एन्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा श्री भगवती क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोलले पराजित गरेको छ।
श्री भगवतीका लगप सेमान्त थापाले ६३औं मिनेटमा निर्णायक गोल गरेका थिए।
लिगमा तेस्रो जित हासिल गरेको श्री भगवती १२ खेलबाट १२ अंक जोड्दै १२औं स्थानमा छ।
तस्बिर: एन्फा






