
समाचार सारांश
संपादकीय समीक्षा पश्चात तयार पारिएको ।
- गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिगमा प्लेबक्सलाई ७७-७६ ले पराजित गरेको छ ।
- गोल्डेनगेटका विकास गुरुङले सर्वाधिक १८ अंक स्कोर गरे भने यो क्लबको तेस्रो जीत हो ।
- लिगमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
३ चैत, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा मंगलबार राति प्लेबक्स एरेनामाथि एक अंकको रोमाञ्चक जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा गोल्डेनगेटले प्लेबक्सलाई ७७-७६ ले पराजित गर्यो ।
गोल्डेनगेटले पहिलो क्वाटरमा १७-१५ र दोस्रो क्वाटरमा १८-१६ अंकका साथ अग्रता कायम गर्दै हाफटाइमसम्म ३५-३१ ले नेतृत्व बनाएको थियो। त्यसपछि प्लेबक्सले खेलमा फर्किन सफल भयो। तेस्रो क्वाटरमा प्लेबक्सले २०-१८ अंकले आफ्नो पक्षमा बनाउँदै अग्रता छोट्यायो र खेल चौथो क्वाटरअघि रोमाञ्चक अवस्थामा पुगेको थियो। चौथो क्वाटरमा पनि प्लेबक्सले २५-२४ अंकले आफ्नो पक्षमा पार्यो, तर अन्ततः जीत गोल्डेनगेटकै भयो, जो एक अंकले विजयी भयो।
खेलमा गोल्डेनगेटका विकास गुरुङले सर्वाधिक १८ अंक स्कोर गरे।
चार खेलमा गोल्डेनगेटको यो तेस्रो विजय हो भने प्लेबक्सको यो तेस्रो हार हो। गोल्डेनगेट ७ अंकसहित चौथो स्थानमा उक्लिएको छ भने प्लेबक्स ५ अंकसहित छैटौं स्थानमा छ।
मंगलबार भएको दोस्रो खेलमा टाइम्सले सोलो बास्केटबल क्लबलाई पराजित गरेको थियो।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा व्यवस्थापनमा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
डबल राउन्ड रोविनको आधारमा खेलिने लिगमा कूल ५६ खेल हुनेछन्। लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफमा लिगमा पहिलो र दोस्रो स्थान प्राप्त टोली बीच पहिलो क्वालिफायर खेल हुनेछ भने तेस्रो र चौथो स्थानयुक्त टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा हार्ने टोली र एलिमिनेटर विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायर विजेताबीच फाइनल खेल हुनेछ।
तस्बिर: एचजेएनबीएल






