
समाचार सारांश
एआईद्वारा तयार गरिएको। सम्पादकीय समीक्षा गरिएको।
- एन्फा महिला लिगमा ९ टोली सहभागी हुनेछन्, जसमा एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस उपाधिका मुख्य प्रतिस्पर्धी हुन्।
- संकटा क्लबले विदेशी खेलाडीसहित विभागीय टोलीलाई चुनौती दिन तयारी गरेको छ।
४ चैत, काठमाडौं । एपीएफ महिला फुटबलमा बलियो टोलीको रूपमा स्थापित भइसकेको छ।
घरेलु महिला फुटबलमा विरलै मात्र अन्य टोलीले एपीएफलाई चुनौती दिन पाएका छन्।
तर भोलीदेखि च्यासल रंगशालामा सुरु हुने एन्फा महिला लिगमा भने एपीएफको दबदबालाई तोड्ने अन्य टोलीहरू तयार छन्।
विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित संकटा क्लबले एपीएफलाई चुनौती दिन तयारी गरेका छन्।
महिला लिगमा तीन विभागीय टोलीसहित कुल ९ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
एपीएफ, नेपाल पुलिस क्लब र आर्मी नै उपाधिका मुख्य दावेदार हुन् भने संकटा क्लबले पनि तीन विभागलाई उपाधि होडमा चुनौती दिने अपेक्षा छ।
यसअघि कुल १० टोली सहभागी हुने भनिए पनि राप्ती एफसी सहभागी नहुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरुमा १० टोलीसहितको खेलतालिका सार्वजनिक गरे पनि पछि क्लबहरूको विरोध भएपछि राप्तीलाई सहभागी नगराउने निर्णय गरेको हो। राष्ट्रिय लिगमा छनोट भएको वालिङ नगरपालिका लिग नखेल्ने भएपछि एन्फाले सुरुमा राप्तीलाई समावेश गरेको थियो।
सहभागी क्लबका प्रशिक्षक र कप्तानहरूले के भन्छन्?
नेपाल पुलिस क्लब
रविन श्रेष्ठ : सहायक प्रशिक्षक
टिमको समग्र तयारी राम्रो छ किनकि विभागीय टोली भएकाले वर्षभरि तयारी हुन्छ। उपाधिको लागि खेल्ने उत्साह छ, त्यसबाहेक विकल्प छैन।
नयाँ क्लबहरू पनि प्रतिस्पर्धात्मक हुँदैछन्।
लिगमा तीन विभागीय टोलीको प्रतिस्पर्धा हुन्छ। गत सिजन एपीएफ लगातार जित्दै गर्दा पुलिस नै ब्रेक गरेको थियो, पहिले पनि जितेको छ।
यसपालि हामीले सविना चौधरी, बिर्सना चौधरी, सुष्मा तामाङ र मिना देउवा गरी चार जना खेलाडी राखेका छौं। टिम राम्रो बनेको छ।
त्रिभुवन आर्मी
राजु तामाङ : मुख्य प्रशिक्षक
तयारी एकदम राम्रो भईसकेको छ र खेलाडीहरू पूर्ण फिट छन्। यसपालि उपाधिका लागि खेल्नेछौं।
चुनौती मैदानमा दिने हो। एपीएफसँग मैदानमा जति खेल्यौं, पूर्ण रूपमा एपीएफले प्रभुत्व जमाएको अवस्था छैन।
बलियो मानसिकता छ र विगतका गल्ती नदोहोर्याउने गरी खेल्नेछौं।
हाम्रो तयारी यसपटक स्कोरिङमा केन्द्रित छ। विगतमा उदयपुरको गेममा स्कोरिङ राम्रो भएन।
अमिसा कार्की खेलको बेला आउनेछिन्।
विदेशी खेलाडीको बारेमा आधिकारिक रूपमा कुरा भएको छैन।
गोलकिपिङमा पनि ध्यान केन्द्रित गरेका छौं। उदयपुरमा लिला जोशीलाई खेलाएका थियौं तर छनोटमा खेल्ने खेलाडी नै राष्ट्रिय लिगमा खेल्ने नियम रहेकाले लिला अहिले चर्च ब्वाईज जानुभएको छ। हामीसँग कोपिला र कविता राम्रो छन्। अवसर पाए राम्रो गर्ने आशा छ। चुनौती अवश्य छ।
सुनिता चौधरी (कप्तान) : टिम राम्रो छ, जितकै लागि खेल्ने हो।
एपीएफ क्लब
जिवेश पाण्डे : मुख्य प्रशिक्षक
भोलीबाट हुने लिगका लागि हामी शारीरिक र मानसिक दुवै दृष्टिले तयार छौं। खेलाडीमध्ये १-२ जना घाइते छन्, अरू फिट छन्।
हामी सधैं लिग राम्रो होस् भन्ने सोच्दछौं। विपक्षी टोलीहरू पनि राम्रो हुनेछन्।
पहिले विदेशी खेलाडी ३ जना राख्ने गर्थ्यौं, यसपटक एक थप्दा ४ जना पुर्याउने विषयमा सहमति भइसकेको छ। त्यसका लागि पनि हामी तयार छौं।
फोकस फिलहाल लिगमै छ। त्यसपछि आउने टुर्नामेन्टको बारेमा पछि विचार गर्नेछौं।
अनिता बस्नेत (कप्तान)
लिगका लागि मानसिक र शारीरिक रूपमा तयार छौं।
सबै खेलाडीहरू तयार छन्। यसपटक सहज हुने छैन। सबै टोली राम्रो छन्। यसपटक टफ लिग हुनेछ। संकटाका विदेशी खेलाडी धेरै छन्।
हामी लिगका लागि उत्साहित छौं। नयाँ नयाँ खेलाडीहरू आइरहेका छन् जसले क्लब र राष्ट्रिय टिमलाई मजबुत बनाउने छन्।
संकटा क्लब :
रविन्द्र शिलाकार : मुख्य प्रशिक्षक
यस सिजन संकटालाई सक्रिय उपस्थिति बनाउने लक्ष्यका साथ आएका छौं।
केही विदेशी खेलाडी र उमेर समूहमा राष्ट्रिय खेलाडी पनि छन्। हामी पनि दावेदारहरू मध्ये एक हौं।
विदेशी खेलाडीहरू म्यानमारका फरवार्डसहित मोजाम्बिकका एक र घानाका दुई खेलाडी छन्।
म्यानमार टिमका कप्तान समेत छन्। बाँकी राष्ट्रिय टिमका खेलाडी र घानाका उमेर समूहका खेलाडी छन्।
विभागीय टिमलाई चुनौती दिन हामीले विशेष तयारी गरेका छौं। उदयपुरमा खेलेपछि मनोबल बढेको छ।
विभागीयहरूसँग प्रतिस्पर्धा गर्नेछौं। एक महिनादेखि मेहनत गरिरहेका छौं।
हामी विभागीय बाहेक अरू टोलीहरूबाट डराउँदैनौं।
संकटा एकेडेमीबाट आएका ३ जना खेलाडीले पनि खेल्नेछन्।
चर्च ब्वाईज युनाइटेड
हेड कोच : विक्रम महर्जन
खेलाडीहरू नियमित बाहिरमै प्रशिक्षण गरिरहेका छन्। आज आउनेछन्।
पक्का चुनौतीपूर्ण लिग हुनेछ। खेलाडीहरूलाई राम्रोसँग सिकाउँदै उचित पोजिसनमा ल्याउने लक्ष्य छ।
विभागीय टोलीले १२ महिना ट्रेनिङ पाउँदा राम्रो हुन्छ। तर हामीले पनि कडा प्रतिस्पर्धा गर्नेछौं। खेलाडीहरूले मेहनत गर्ने प्रतिबद्धता दिएका छन्।
विदेशी खेलाडी ल्याउने वा नल्याउने विषयमा हामी निर्णय गर्नेछौं।
कप्तान बर्षा मगर : म्याच जित्दै लिग च्याम्पियन बन्ने लक्ष्य छ। प्रतिस्पर्धा कडा हुनेछ।
बागमती युथ क्लब
निराजन कार्की : टिम म्यानेजर
टिम सर्लाहीबाट आएको छ। पर्सि खेल हुनेछ।
टिमको स्तर राम्रो छ।
एनआरटी, झापा फुटबल क्लब र आर रिसोर्ट एण्ड बिच क्लबले प्रेस सम्मेलनमा सहभागिता जनाएनन्।
तस्विर: विकास श्रेष्ठ






