
फाइल तस्वीर
सम्पादकीय सारांश
- नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँहरू पहिरोको जोखिममा रहेका छन्, जसमा आठ ठाउं अत्यधिक जोखिममा छन्।
- सडक डिभिजन कार्यालय भरतपुरले तुइन, काली र नाम्सी खोलालाई उच्च जोखिममा रहेको जनाएको छ।
- पहिरो रोकथामका लागि २५ करोड रुपैयाँ छुट्याइएको छ र वर्षापूर्व काम सुरु गर्ने तयारी छ।
४ चैत, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ स्थानहरू पहिरोको जोखिममा रहेका छन्। सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययनअनुसार, आठ स्थान उच्च जोखिममा, २२ स्थान जोखिममा र १३ स्थान सामान्य जोखिममा छन्। कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिममा रहेको तुइन खोला अत्यधिक खतरा छ।
कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन्। साथै, तुइन खोलाबाट चिसेन्जी बीचको भाग, चार किलोबाट दुई ठाउँ, मौरी खोला र सेती दोभानमा पहिरोको उच्च जोखिम रहेको उनले जानकारी दिए।
‘तुइन र चिसेन्जीबीच ढुङ्गा झर्ने समस्या छ। तुइन, काली र नाम्सी खोलाहरूको छेउ पहिरोको उच्च जोखिममा छन्। चार किलोका दुई ठाउँमध्ये एकमा पहिरो र अर्कोमा लेदो झर्ने समस्या छ। मौरी खोला र सेती दोभानमा पनि लेदोसहितको पहिरोको उच्च जोखिम छ,’ इन्जिनियर घिमिरेले जानकारी दिए। १६ किलो, १७ किलो, डुम्रे खोला, सिमलताललगायत स्थानहरू पनि जोखिममा रहेको उनले बताए।
गत वर्षदेखि ती स्थानहरूमा पहिरोको जोखिम रहेको छ। कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथामका लागि खरिद गुरुयोजना स्वीकृतिका लागि माघ २३ गते सडक विभागमा पठाइसकिएको छ।
विभागले डिजाइन कार्य अन्तिम चरणमा पुर्याएको उनले बताए। ती स्थानहरूमा विपद्मार्फत विनियोजित २५ करोड रुपैयाँबाट पहिरो रोकथामको तयारी भइरहेको उनि उल्लेख गरे।
प्रमुख लामिछानेका अनुसार त्यहाँका अन्य स्थानहरूमा पहिरो रोकथामका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। बोलपत्र आह्वानको तयारी भएको छ र नक्साङ्कन पूर्ण भएकाले केही दिनमा बोलपत्र आह्वान गरी वर्षापूर्व जोखिम भएका स्थानहरूमा पहिरो रोकथाम र न्यूनिकरणका काम गरिने बताए। वर्षा सुरु भएसँगै सडकमा पहिरोको जोखिम हुनसक्ने भएकाले आवश्यक तयारी कार्यालयले गरिरहेको जनाएको छ।
केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको थियो। भित्तो काटिएको र नयाँ स्थानमा समेत लेदोसहितको पहिरो खस्दा वर्षाको समयमा उक्त सडकमा समस्या हुने गरेको छ। यस सडकमार्फत दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। यो सडकलाई राजधानी काठमाडौंका लागि जीवनरेखा मानिन्छ।






