
तस्बिर स्रोत, EPA
पढ्ने समय: ४ मिनेट
निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको केही दिनभित्रै नयाँ प्रधानमन्त्री नियुक्त हुनसक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले बताएका छन्।
चैत ५ गते समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले प्रमाणपत्र पाइसकेपछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीसँग औपचारिक रूपमा संसदमा बहुमत सदस्यहरू हुनेछन्।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष प्रणालीतर्फ निर्वाचित १२५ जना सांसदहरूले मात्र प्रमाणपत्र लिएका छन्।
त्यस दलबाट समानुपातिक प्रणालीतर्फ निर्वाचित ५७ जना सांसदले अझै प्रमाणपत्र पाउन बाँकी छ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फका १६५ सांसदलाई निर्वाचन क्षेत्रबाट तत्कालै प्रमाणपत्र दिएको छ भने समानुपातिक तर्फको अन्तिम नतिजा सोमबार मात्र घोषणा गरेको थियो।
आयोगले बिहीवार समानुपातिक प्रणालीबाट दलहरूले पाएको मतका आधारमा निर्वाचित ११० जना सांसदहरूलाई प्रमाणपत्र दिएपछि त्यही दिन राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तिम निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ।
राष्ट्रपति कार्यालयका अनुसार आयोगले चैत ५ गते अपराह्न ४ बजे प्रतिवेदन बुझाउन समय माग गरेको छ।
निर्वाचन आयोगले राष्ट्रपतिलाई अन्तिम प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठन र संसद्को काम सुरु गर्ने बाटो खुल्ने बताइएको छ।
नयाँ प्रधानमन्त्री कब नियुक्त हुनुपर्छ?
प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
तसर्थ बहुमत दलले वैशाख १० गतेभित्र नयाँ प्रधानमन्त्री नियुक्त गरिसक्नु पर्ने संवैधानिक बाध्यता छ भनी कानुन जानकारहरू बताउँछन्।
नयाँ संविधान जारी भएदेखि पहिलो पटक एउटै दलले स्पष्ट बहुमत पाएको र बहुमतप्राप्त दलले नै निर्वाचन अघि प्रधानमन्त्रीको उम्मेदवार तय गरिसकेको भएकाले नयाँ प्रधानमन्त्री बन्न अन्तिम समयसीमा पर्खन नपर्ने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले भनेका छन्।
उनहरूको अनुसार आगामी साताको सुरुमै देशले नयाँ प्रधानमन्त्री पाइसक्ने सम्भावना छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) लाई नयाँ प्रधानमन्त्री बनाउने घोषणा गरिसकेको छ।
पार्टी सभापतिसँग भएको सम्झौतापछि स्वतन्त्र निर्वाचित मेयर बालेन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए। माघ ५ गते मधेसको जनकपुरमा पार्टी सभालाई सम्बोधन गर्दै बालेनले भनेका थिए, “आइ एगो मधेशीया छौँडा प्रधानमन्त्री बनेला हई” अर्थात् ‘अब मधेसको केटो प्रधानमन्त्री बन्नेछ।’
राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी के छ?
तस्बिर स्रोत, RSS
नेपालमा सरकारले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली नभएकाले राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि मात्र घोषणा गरेर पुग्दैन। नयाँ प्रधानमन्त्री चयनका लागि उनीहरूले आफ्नो संसदीय दलको नेता पनि चयन गर्नुपर्ने हुन्छ।
संविधानको धारा ७६ उपधारा १ बमोजिम बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्छन्।
त्यसैले अन्तिम परिणाम आएर आफ्नै संसदीय दलको नेता छान्ने तयारी राष्ट्रिय स्वतन्त्र पार्टीले गरिरहेको नेताहरूले बताएका छन्।
तर रास्वपाको विधानले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया लामो राखेको छ, त्यसलाई छोट्याउने विषयमा छलफल भइरहेको छ।
केही रास्वपा नेताहरूलाई नयाँ प्रधानमन्त्रीको शपथ कहिले हुने भनेर सोध्दा, पूर्वमन्त्री शिशिर खनालले भने, “मेरो व्यक्तिगत विचारमा छिटोमा चैत ९ वा १० गतेसम्म हुन सक्छ।”
अरू नेताहरू पनि चैत ९ गते सोमवार नयाँ प्रधानमन्त्रीको शपथ हुन सक्ने बताउँछन्।
राष्ट्रपति कार्यालयको तयारी के छ?
तस्बिर स्रोत, Reuters
राष्ट्रपति कार्यालयले अहिले सम्म नयाँ प्रधानमन्त्रीको शपथ समारोहको मिति बारे कुनै जानकारी नभएको बताएका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले भने, “हामी तयारी अवस्थामा छौं, तर अहिलेसम्म कहिलेजस्तो तयारी गर्ने भन्ने जानकारी आएको छैन।”
प्रधानमन्त्री बन्ने व्यक्तिले पहिले सांसदको शपथ लिनुपर्छ कि पर्दैन भन्ने विषयमा केही विज्ञहरूले प्रश्न उठाएका छन्। तर संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले स्पष्ट बहुमत पाएपछि राष्ट्रपतिले संसद्को पहिलो बैठक हुनुअघि नै प्रधानमन्त्री नियुक्त गर्न सक्ने बीबीसीसित बताएका थिए।
हाम्री सामग्रीहरू युट्युब, फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि उपलब्ध छन्। रेडियो कार्यक्रम सोमबारदेखि शुक्रबार बेलुका पौने नौ बजे प्रसारण हुन्छ।






