Skip to main content

कार्की आयोगको प्रतिवेदन ‘नयाँ सरकार आएपछि मात्रै’ अघि बढ्ने, रास्वपाले के गर्ला

प्रधानमन्त्री सुशीला कार्की

तस्बिर स्रोत, PMO

भदौमा भएको नवयुवाहरूको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभएको विषयमा आमचासो बढेको देखिएका बेला सरकारका मुख्यसचिवले नयाँ सरकार आएपछि मात्रै उक्त प्रतिवेदनको प्रक्रिया अघि बढ्ने बताएका छन्।

“उक्त प्रतिवेदनबारे आमचासो छ र त्यो हुनु स्वाभाविक पनि हो,” मुख्यसचिव सुमनराज अर्यालले बीबीसीसँग भने, “अब सातआठ दिन त हो नि, १०/१२ गतेतिर नयाँ सरकार बन्ला। त्यसपछि यो (प्रतिवेदन) अगाडि जान्छ।”

केही दिनअघि मात्र गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगको प्रतिवेदन बुझेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले त्यसलाई सार्वजनिक गर्ने ठानिएको थियो।

गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिने क्रममा सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सोमवार त्यसबारे विस्तृत विवरण आउने बताएका थिए। तर त्यसयता उक्त प्रतिवेदनबारे थप जानकारी दिइएको छैन।

“हामीले यसबारे गृह मन्त्रालयका अधिकारीहरूसँग कुरा गरिरहेका छौँ। उहाँहरूले यसबारे बुझ्दै छौँ भन्नुभएको छ।”