आशा भोसलेको सङ्गीत जीवन : नेपाली सङ्गीतप्रति उत्साह र नारायणगोपाल उनका प्रिय गायक

भारतीय गायिका आशा भोसलेको निधनले विश्व सङ्गीत क्षेत्रमा एउटा युगको अन्त्य भएको छ। उनले नेपाली फिल्म र गीतहरूमा स्वर दिँदै नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय स्वादसँग जोड्न सहयोग गरिन्। आशाले नेपाली सङ्गीतका प्रख्यात स्रष्टासँग सहकार्य गरी नयाँ उचाइमा नेपाली सङ्गीतलाई पुर्याइन। भारतीय सङ्गीतकी अनुपम गायिका आशा भोसले अब हामी माझ छैनन्। उनको निधनले भारतीय उपमहाद्वीप मात्र नभई विश्व सङ्गीतले एउटा युग गुमाएको छ। सात दशकभन्दा बढीको सफल सङ्गीत यात्रामा उनले हजारौं गीतमार्फत् छोडेको सङ्गीतको विरासत भविष्यका पुस्ताहरूमा चिरकालसम्म चम्किरहनेछ। उनको प्रभाव नेपालमा पनि गहिरो रहेको छ। आशाले नेपाली चलचित्र र गीतहरूमा स्वर दिए जसले नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय स्वादसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ। विशेषतः सन् ७०/८० को दशकमा नेपाली सङ्गीतमा भारतीय सङ्गीतकार र गायकहरूसँगको सहकार्य बढ्दा आशाको स्वर यहाँ पनि अत्यंतै लोकप्रिय भयो। उनले गाएका केही नेपाली गीतहरू आज पनि चर्चित छन्। नेपाली चलचित्रका लागि उनले पाश्र्वगायनमा नयाँ उचाइ ल्याइन्। त्यो समयमा नेपाली सङ्गीत उद्योग विकासको चरणमा थियो, त्यस्तो परिस्थितिमा आशाजी जस्ता अन्तर्राष्ट्रिय स्तरका गायिकाको सहभागिताले नेपाली सङ्गीतलाई आत्मविश्वास थपेको थियो।
उनको योगदान गीत गाउन मात्र सीमित थिएन, उनले नेपाली सङ्गीतलाई व्यापक दर्शकमाझ पुर्याउने भूमिका निर्वाह गरिन्। भारतीय रेडियो र क्यासेट संस्कृतिमा उनको सङ्गीतसहित नेपाली गीतहरू पनि प्रायः सुनिने वातावरण बनेको थियो।
संघर्षपूर्ण जीवनको कथा : सन् १९३३ मा महाराष्ट्रस्थित परिवारमा जन्मिएकी आशा भोसलेको बाल्यकाल धेरै सजिलो थिएन। प्रसिद्ध गायक तथा नाटककार पण्डित दीनानाथ मंगेशकरकी छोरी भएकाले सङ्गीत उनको रगतमा थियो। तर बाल्यकालमै पिताको निधनपछि उनले परिवारको जिम्मेवारी लिएर आफ्नो संघर्ष र आत्मनिर्भरतालाई सिद्ध गरिन्। दिदी लता मंगेशकरको छायाँमा आफ्नो छुट्टै पहिचान बनाउनु सजिलो थिएन। आरम्भमा बी-ग्रेड फिल्मका अवसर तथा अस्वीकृतिको पीडामा परे पनि उनले आफूलाई प्रमाणित गरिन्। कहिल्यै हार नमान्दै शास्त्रीय, गजल, पप, क्याबरेदेखि लोक सङ्गीतसम्म बहुआयामिक गायिका बन्न सफल रहिन्।
उनको सङ्गीत तथा गीतहरूको गुणस्तर र विविधताका कारण संगीत क्षेत्रमा उनको अपूरणीय स्थान छ। उनले आरडी बर्मन र ओपी नैय्यरजस्ता दिग्गज सङ्गीतकारहरूसँग काम गरी नयाँ ध्वनि र शैली प्रस्तुत गरिन्। ‘पिया तू अब तो आजा’, ‘दम मारो दम’, ‘चुरा लिया है तुमने’, ‘इन आँखों की मस्ती’जस्ता गीतहरूले उनलाई अमर गराइदियो। आशा भोसलेले हिन्दी मात्र नभई बंगाली, मराठी, गुजराती, पंजाबी, अंग्रेजी लगायत २० भन्दा बढी भाषामा गीत गाउँदै विश्वभरी लोकप्रियता प्राप्त गरिन्।
नेपाली सङ्गीत र संस्कृति प्रति उनको रुचि विशेष थियो। उनले नेपाली चलचित्र तथा गीतहरूमा स्वर दिएर संगीतप्रेमीहरू माझ सम्झनाको पात्र बनिन्। आशाले गाउँदै नेपाली श्रोताको भावना समेट्ने गीतहरू सिर्जना गरिन्। ‘म प्यार बेचिदिन्छु’, ‘यति धेरै माया दियौ’, ‘एउटा मान्छे मनपर्छ’, ‘बैगुनी मायाले’, ‘गैरी खेतको शिरै हान्यो’, ‘आज हाम्रो भेट भएको दिन’, ‘किन बढ्दैछ ढुकढुकी’, ‘दियो बाली साँझको’, ‘साउने झरीमा’, ‘वसन्त नै बस्न खोज्छ यहाँ’, ‘पहाडको माथि माथि’, ‘मोहनी लाग्ला है’, ‘तिम्रो मनमा लुकेको कुरा’जस्ता नेपाली गीतहरू उनका स्वरमा अत्यन्तै लोकप्रिय भए। यी गीतहरूमा आशाले प्रेम, विरह, प्रकृति र जीवनका सरल भावहरूलाई शैलीसँग प्रस्तुत गरिन्।
उनको आवाजले गीतहरूलाई जीवित बनाएको छ र यी गीतहरू रेडियो, सङ्गीत समारोह तथा डिजिटल प्लेटफर्महरूमा अझै पनि निकै रुचाइन्छ। आशाले नेपाली सङ्गीतका धेरै प्रतिष्ठित स्रष्टासँग सहकार्य गरिन् जसमा नारायणगोपाल, प्रकाश श्रेष्ठ, शम्भुजीत बास्कोटा, जयदेव, किरण खरेल, रञ्जित गजमेर, कुसुम गजमेरहरू रहेका छन्। भारतीय गायन शैली तथा नेपाली शब्द र धुनको संयोजनले नयाँ पहिचान तयार पार्यो। विशेषगरी रञ्जित र शम्भुजीतसँगको सहकार्यले आधुनिक नेपाली चलचित्र सङ्गीतलाई उच्चतम स्तरमा पुर्याउन योगदान पुर्यायो।
आशाले नेपाललाई सधैं सांस्कृतिक रूपमा नजिकको देशको रूपमा हेरिन्। उनलाई नेपाल छिमेकी मात्र नभई सङ्गीत बुझ्ने र आत्मसात गर्ने दर्शक रहेको समाज सम्झिन्थिन्। उनले नेपाली श्रोताको सङ्गीतप्रति प्रेम, संवेदनशीलता र गीतप्रतिको लगावलाई सधैं प्रशंसा गरिन्। ‘पर्देमे रहेनो दो, पर्दा ना उठाओ’ गीतको छायांकन र काठमाडौंमा भएका कार्यक्रमहरूले नेपालमा सङ्गीतको वातावरण, मान्छेको ऊर्जा र आतिथ्यले उनलाई अत्यन्त प्रभावित पारेको बताइन्। नेपाली सङ्गीतप्रति उनको दृष्टिकोण सदैव सकारात्मक रह्यो। उनले नेपाली गीतहरूमा मौलिकता, लोकधुनको गहिराइ र शब्दको मिठास महसुस गर्थिन्।
उनका अनुसार नेपाली सङ्गीत प्रकृतिसँग गहिरो सम्बन्ध राख्छ, जहाँ पहाड, नदी, वर्षा र गाउँघरका अनुभूतिहरू गीतमा झल्किन्छन्, जसले नेपाली सङ्गीतलाई विशेष बनाउँछ। आशा भोसलेले गुणस्तर कायम राख्न, राम्रो शब्द प्रयोग गर्न र निरन्तर अभ्यास गर्दै जान आवश्यक ठानेकी थिइन्।
आशा भोसले भारतीय मात्र नभई विश्व सङ्गीत क्षेत्रका महत्वपूर्ण नाम पनि हुन्। उनले विभिन्न देशहरूमा कन्सर्टहरू गरिन्, अन्तर्राष्ट्रिय कलाकारहरूसँग सहकार्य गरिन् र भारतीय सङ्गीतलाई विश्वस्तरमा चिनाइन्। उनका गीतहरू दक्षिण एसियामै सीमित नभई अन्य क्षेत्रहरूमा पनि अत्यधिक लोकप्रिय छन्। यसैले उनलाई ग्लोबल आइकनको रूपमा पनि सम्मान गरिन्छ।
प्रेम र सहकार्य : नारायणगोपाल उनका प्रिय गायक
आशाको नेपाली चलचित्र निर्देशक तुलसी घिमिरेसँग विशेष सम्बन्ध थियो। डेब्यु चलचित्र ‘बाँसुरी’का गीतमा स्वर दिन आग्रह गर्न तुलसी र रञ्जित गजमेर मुम्बई पुगेका थिए। आशाले रञ्जितलाई “कान्छा” भनेर बोलाउँथिन् र उनीहरूको मित्रता निकै राम्रो थियो। रञ्जितबाट परिचित भएर तुलसीले आशासँग मुंबईमा भेट गरी गीत गाउन अनुरोध गरे। स्टुडियो बाहिर निस्कँदा आशालाई पुनः भेटेर गीतको मूल्य सोध्ने क्षण तुलसीलाई अझै सम्झना छ। त्यतिबेला भारती पनि त्यहाँ थिइन्, जो पछि तुलसीकी पत्नी बन्ने भएकी थिइन्। तुलसीका अनुसार आशाले विनोदपूर्वक ‘पैसा कति दिने?’ भनिन् र रञ्जितलाई ‘कान्छा गाना रेडी करो’ भने। पछि स्टुडियो बुकिङ भयो र सबै उत्साहित भए। आशाको स्वर नेपाली फिल्ममा समावेश हुनु ठूलो उपलब्धि थियो।
आशाले ‘बाँसुरी’का ‘मिरमिरे साँझमा सिमसिमे पानी’ र ‘झझल्को लिएर आएछ सावन फेरी आँखामा’ गीतहरू गाइन्, रञ्जितले संगीत भरे। त्यसपछि तुलसीका अन्य फिल्महरू चिनो, कोसेली, लाहुरेमा पनि आशाले स्वर दिइन्। तुलसी भन्छन्, “उहाँ नेपालीलाई अत्यन्त माया गर्ने प्रसिद्ध गायिका हुनुहुन्थ्यो। उहाँलाई मनपर्ने गायक नारायणगोपाल थिए। उहाँहरूले ‘पहाडको माथि माथि’ गीतमा पनि सहकार्य गर्नुभयो।” आशाले नारायणगोपालको आवाज, गायन शैली र स्वभावको प्रशंसा गरिरहनु हुन्थ्यो। “आशाजी नेपाल र नेपालीलाई निकै माया गर्ने व्यक्ति हुन्,” तुलसी सम्झन्छन्। “नेपाली गीत बारेमा उहाँ उत्साहित हुन्थिन। अरु भाषाका गीत पनि गाउनुभयो तर नेपालको विषयमा कहिल्यै नकारात्मक व्यवहार देखाइनन्।”
आशा भोसलेको निधनले एउटा युगको अन्त्य भएको अनुभूति गराएको छ। तर उनका गीतहरू कहिल्यै हराउने छैनन्। उनको आवाज रेडियोमा अझै बजिरहनेछ, नयाँ पुस्ताले सुनेर प्रेरणा लिनेछन् र पुराना पुस्ताले सम्झनेछन्। उनको संघर्ष, लगनशीलता र समर्पणका कथाहरू सधैं प्रेरणाको स्रोत रहिरहनेछन्। अनुपस्थितिले महसुस त हुनेछ, तर उनको आवाज हामी संग सधैं रहनेछ।
आशाको जीवन नयाँ पुस्ताका लागि एउटा सन्देश हो: सफलता छोटो बाटोबाट हासिल हुँदैन। उनले निरन्तर अभ्यास, अनुशासन र मेहनतलाई प्राथमिकता दिइन्। समयसँगै आफूमाथि परिवर्तन गर्दै पनि आफ्नो मौलिकता कहिल्यै नछोडेकी थिइन्। आजका गायक-गायिकाले यसबाट सिक्नुपर्ने महत्वपूर्ण कुरा बहुआयामिक हुनु र मौलिकता कायम राख्नु हो।






