
४ चैत, काठमाडौं । नेकपा मालेले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रक्रिया र परिणामप्रति अनेकौं शंका देखाएको छ । बुधबार केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको विस्तारित बैठकपछि मालेका महासचिव सीपी मैनालीले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन परिणाममाथि प्रश्न उठाएका छन् ।
‘प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए तापनि त्यसको प्रक्रिया र परिणाममा अनेकौं शंका उत्पन्न भएका छन्,’ मैनालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संसदवादी दलका गलत नीतिहरू, दमनकारी दृष्टिकोण र भ्रष्ट व्यवहारबाट जनता आक्रोशित भई तत्कालीन गठबन्धन सरकारको विरोधमा रहेको तथ्य विज्ञप्तिमा स्वाभाविक रूपमा जनाइएको छ । भदौ २३ मा जेएनजिओको विरोध प्रदर्शन विरुद्ध गरिएको दमनको प्रतिक्रियामा नष्टकारी क्रियाकलापहरू चुपचाप हेर्न जनता बाध्य भएको टिप्पणी पनि गरिएको छ ।
‘त्यसपश्चात् एनजिओ/आईएनजिओको प्रत्यक्ष संलग्नतामा गठन गरिएको गैर दलीय भनिए पनि रास्वपाको यथास्थितिवादी कार्की सरकारले गराएको निर्वाचनबाट राजनीतिक मूल्याङ्कनका निष्कर्ष विपरीत परिणाम आउनु आशंकाजनक भए पनि अस्वाभाविक होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘समयक्रममै यसका कार्यहरू र कारणहरू उजागर हुँदै जानेछन् ।’
यद्यपि रास्वपाको नेतृत्वमा पूर्ण बहुमतमा नयाँ सरकारले गठन भइरहेका विषयमा मालेले शुभकामना दिएको छ ।
त्यसैगरी, अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल लेफ्टिनेन्ट जनरल जोएल भोवेलले नेपाल भ्रमण गरेको र त्यसअघि फागुन १ गते अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका जनरल सामुयल जे पापारोको भ्रमणमा पनि मालेले शंका प्रकट गरेको छ ।






