Skip to main content

प्रधानन्यायाधीशको दाबी : न्याय प्रणाली पुनः लयमा फर्किएको छ


४ चैत, नेपालगञ्ज । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वयका कारण न्याय प्रणाली बिस्तारै पुनः लयमा फर्किरहेको बताएका छन् । बुधबार नेपालगञ्जमा कानुन व्यवसायीसँग भएको छलफलमा उनले न्यायिक सुशासन, जलाएका मिसिलहरूको व्यवस्थापन र न्यायालयप्रति दृष्टिकोण सुधारबारे आफ्नो मत व्यक्त गरे।

जेनजी आन्दोलनपछि जलाइएका मिसिलहरूको व्यवस्थापन र न्याय क्षेत्रमा पुनःप्रेरणा दिने कामलाई प्राथमिकता दिइएको प्रधानन्यायाधीश राउतले बताए। सर्वोच्च अदालतमा करिब २० हजार मिसिलहरू जलाइएको अवस्थामा हालसम्म १९ हजार मिसिलहरू पुनः कायम भइसकेको जानकारी दिँदै उनले मोफसलका अदालतमा जलाइएका मिसिलहरू पुनःतयारीका लागि आफूले केन्द्रस्तरबाट महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गरिरहेको बताए।

अदालत सुचारु रूपमा सञ्चालन हुँदा कानुन व्यवसायीहरू पनि सन्तुष्ट हुने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले मिसिल पुनःस्थापना र न्याय सम्पादनमा कानुन व्यवसायीसँग सहकार्य गर्न आग्रह गरे।

अदालत जल्नुमा अदालतप्रति नकारात्मक दृष्टिकोणले पनि भूमिका खेलेको हुन सक्ने उल्लेख गर्दै उनले यसबारे समीक्षा आवश्यक रहेको बताए।

बदलिँदो सन्दर्भमा अदालत मात्र नभएर न्यायालयप्रति दृष्टिकोण नकारात्मक किन बन्न पुग्यो भन्ने विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

त्यस्तै, बदलिँदो परिवेशका अनुसार अदालत र कानुन व्यवसायी दुवैले आफूलाई समयअनुकूल रूपान्तरण गर्नुपर्नेमा प्रधानन्यायाधीश राउतले जोड दिए। –रासस