
फाइल तस्वीर
समाचार सारांश
- नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ १२ चैतमा गरिने तयारी छ।
- सांसदहरूलाई उनीहरूको पहिचान झल्किने पोशाक लगाएर र मातृभाषामा शपथ लिन अनुमति दिइनेछ।
- २०७९ सालको शपथसम्बन्धी ऐनअनुसार औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने र मातृभाषामा शपथ लिन सकिने प्रावधान राखिएको छ।
४ चैत, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ १२ चैतमा गरिने तयारी भईरहेको छ ।
नवनिर्वाचित सदस्यहरू मध्ये ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिन्छन् र त्यसपछि बाँकी सदस्यहरूलाई उक्त ज्येष्ठ सदस्यले शपथ खुवाउने व्यवस्था छ ।
२०७९ सालको शपथ सम्बन्धी ऐन अनुसार सांसदहरूले शपथ ग्रहण गर्दा पहिचान झल्काउने पोशाक लगाउन र मातृभाषामा पनि शपथ लिन पाउने व्यवस्था गरिएको छ ।
यस ऐनको दफा ४ मा औपचारिक पोशाक लगाएर उपस्थित हुनुपर्ने व्यवस्था छ ।
त्यसमा भनिएको छ: ‘सार्वजनिक पद धारण गर्ने व्यक्तिले शपथ लिँदा वा गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाक लगाइ उपस्थित हुनुपर्नेछ।’
दफा अन्तर्गत त्यस्तो व्यक्तिले आफ्नो संस्कृति, परम्परा वा पहिचान झल्काउने गर्ने मर्यादित भेषभूषा वा पोशाक लगाएर शपथ लिन वा गराउन सक्ने प्रावधान पनि छ।
दफा ५ मा शपथ लिन प्रयोग हुने भाषासम्बन्धी प्रावधान छ, जसमा भनिएको छ कि शपथ सरकारी कामकाजको नेपाली भाषामा लिन वा गराउनुपर्नेछ।
साथै, सार्वजनिक पदधारी व्यक्ति आफ्नो मातृभाषामा पनि शपथ लिन सक्ने व्यवस्था गरिएको छ।
‘मातृभाषामा शपथ लिन चाहनेले अनुसूचीमा उल्लिखित शपथको व्याख्या मातृभाषामा अनुवाद गरी आफैंले प्रमाणित गरि शपथ गराउने पदाधिकारीसमक्ष शपथ लिनुअघि पेश गर्नुपर्नेछ,’ दफा ५ को उपदफा २ मा उल्लेख छ।
यसैगरी, सार्वजनिक पदधारीले नेपाली भाषामा शपथ लिएको भए सो शपथको दुई प्रतिलिपि, र मातृभाषामा शपथ लिएको भए मातृभाषाको शपथको दुई प्रतिलिपि हस्ताक्षर गरी शपथ गराउने पदाधिकारीलाई पेश गर्नुपर्ने व्यवस्था छ।






