Skip to main content

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाएका छन् बन्दुक


५ चैत, रोल्पा । परिवर्तन गाउँपालिका-५ कोरलका कक्षा ९ मा अध्ययनरत विद्यार्थी उमित बुढामगरले बन्दुक बनाएका छन्।

बुढामगर परिवर्तन गाउँपालिका-१ कुरेलीको बाल कल्याण मावि उपबाङ्मा अध्ययन गर्छन्। १५ वर्षका उनले दुई हप्ता लगाएर एम-१४ नाम दिएर बन्दुक निर्माण गरेका हुन्।

स्रोत साधन जुटाउन मुस्किल थियो तर प्रयोगविहीन सामग्रीको प्रयोग गरेर बन्दुक निर्माण गरेको बुढामगरले बताए। चरा धपाउनका लागि बन्दुक निर्माण गरेको उनको भनाइ छ। ‘बन्दुक बनाउँदा मैले काठ, फलामका पाइप, ब्याट्री र बाँसको जडान गरेको छु’, उनले भने।

सलाइको काँटी प्रयोग गरेर बन्दुक पड्काउन सकिन्छ। बुढामगरले घरेलु सामग्रीको प्रयोग गरेर बन्दुक बनाएपछि परिवर्तन गाउँपालिका-१ का वडाध्यक्ष मैते बुढा मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवीणकुमार बुढामगर, विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर वलीलगायत विद्यालयका शिक्षक-शिक्षिका र सुरक्षाकर्मीले समेत खादा र अबिर लगाएर बधाई दिएका छन्।

यो पालिका बेलाबेला चर्चामा आइरहन्छ। यसअघि २०८० सालमा वडानम्बर-४ पाछाबाङको गाउँडेरा गाउँकी खुशी बुढामगरले १० महिनामा ७ वटा लोकसेवाका परीक्षा उत्तीर्ण गरेपछि देशभरी चर्चा भएको थियो।